काठमाडौं। नेपालीको मुख्य चाड दसैं र तिहार नजिकिँदै गर्दा खाने तेलको मूल्य भने निरन्तर उकालो लाग्दै गएको छ। सामान्य समयमा भन्दा चाडबाडको क्रममा धेरै खाने तेलको खपत हुने हुँदा बजारमा माग बढ्दै जादा व्यवसायीहरुले मूल्य बढाउँदै गएका हुन्।
काँचो तोरीको तेलको मूल्य अहिले प्रतिलिटर २५ रुपैयाँसम्म बढ्दा खाद्यन्नमा भने खासै मूल्य नबढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। संघका अनुसार साउन १५ गते प्रतिलिटर ३३५ रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य २५ रुपैयाँले वृद्धि भएर असोज १ गतेदेखि ३६० रुपैयाँ प्रतिलिटर पुगेको छ। यस्तै, अन्य तेलमा भने प्रतिलिटर १० रुपैयाँले वृद्धि भएको छ।
संघका अनुसार, साउन १५ गते अन्य तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँ रहेकोमा १० रुपैयाँले वृद्धि भएर असोज १ गतेदेखि २६० रुपैयाँ प्रतिलिटर पुगेको छ। भारतको नीतिका कारण काँचो तोरीको तेलको मूल्य प्रतिलिटर २५ रुपैयाँ र अन्य तेलको मूल्य १० रुपैयाँसम्म बढेको व्यापारीले बताएका छन्। तर, यो मूल्य वृद्धि धेरै ठूलो नभएको र समग्र खाद्यान्नमा मूल्य वृद्धि नभएको नेपाल चामल तेल दाल उद्योग संघका सदस्य तथा राधाकृष्ण राइस मिलका सञ्चालक विभोर अग्रवालले बताए।
चामल, चीनी, पिठो, दाल, गेडागुडी लगायतकाे मूल्य साढे एक महिनामा यथावत् रहेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुल काजी तुलाधरले बताएका छन्। उनका अनुसार साढे एक महिनामा खाद्यन्न सामाग्रीको मूल्य वृद्धि भएको छैन।
साढे एक महिनाको १० मुख्य खाद्यन्नका मूल्य विवरण
दसैंको चहलपहल, मनसुनी विपद् र जेनजी आन्दोलनका कारणले खाद्यन्नमा मूल्य वृद्धि हुने सम्भावना देखिन्छ। तर, विषम परिस्थितिलाई ध्यानमा राखेर खाद्यन्नमा मूल्य वृद्धि नगर्न उद्योगीको जोड छ। अग्रवालका अनुसार खाद्यन्न प्रयाप्त रहेकाले खुद्रा व्यापारीले मूल्य वृद्धि नगर्न आग्रह समेत गरेका छन्। ‘उपभोक्तासँग प्रत्यक्ष जोडिएका जो व्यापारी हुनुहुन्छ, हामीसँग खाद्यन्न प्रर्याप्त छ। उहाँहरुले मूल्य वृद्धि गर्नु हुदैन भन्ने विश्वास छ,’ उनले भने।
दसैं नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढ्ने चर्चा चलिरहे पनि यसपटक मूल्यमा खासै ठूलो वृद्धि नभएको संघको तथ्यांकमा उल्लेख छ। हाल बजारमा खाद्यान्नको पर्याप्त स्टक रहेकोले मूल्य बढ्ने सम्भावना देखिदैन। अग्रवालका अनुसार अहिले नेपालमा नयाँ सिजनको धान भित्रिन करिब एकदेखि डेढ महिना बाँकी छ। उद्योगहरूसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात छ।
‘पहिले नेपालमा ५० वटा उद्योग रहेकोमा अहिले नयाँ ५० वटा उद्योग थपिएको छ,’ उनले भने, ‘नयाँ राइस मिलमा ठूलो परिमाणमा खाद्यान्न भन्डारण छ, यसले गर्दा चामलको मूल्य वृद्धि हुँदैन।’ साथै, उनले बजारमा खाद्यान्नको अभाव नहुने र मूल्य पनि स्थिर रहने दाबी गरे।
असनस्थित एक खाद्यन्न तथा मसला स्टोरका व्यापारी जीवन काफ्लेले मसला र खाद्यन्नको मूल्य यथावत् रहेको बताए। ‘दसैंमा व्यापार छ, दैनिक १ सय जना मान्छे आउने गरेका छन्,’ उनले भने, ‘खाद्यन्न तथा मसला मान्छेका लागि अनिवार्य छ, त्यसैले यसमा आन्दोलनको खासै असर परेको छैन, मूल्य पनि बढेको छैन।’ उनले देशको विषम परिस्थितिका समयमा आफूहरुले दैनिक आवश्यक पर्ने खाद्यन्नमा मूल्य वृद्धि सकेसम्म नगर्ने बताएका छन्।