काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्रमा चुनौती आए पनि निजी क्षेत्र मिलेर त्यसलाई पार गरेको बताएका छन् । गोल्छाले नेपालको निजी क्षेत्रको ‘यूनिक क्यारेक्टर’का कारण जस्तोसुकै संकट र चुनौती सफलता पूर्वक पार गरेको बताए ।
बागलुङ जेसीजले महामारी र निषेधाज्ञाले उद्योग र व्यापारमा पारेको प्रभाव र असर विषयक भर्चुअल कार्यक्रममा बोल्दै गोल्छाले गत वर्षको लकडाउनमा अर्थतन्त्र ऋणात्मक हुँदा पनि चाँडै अर्थतन्त्र तङग्रिएको बताए ।
अहिले विश्वदेखि नेपालसम्म अर्थ व्यवस्था खलबलिएको छ, अहिलेको अवस्थाको पहिलाको भन्दा जटिल पनि भएकाले कति लामो जाने निश्चित नभए पनि यो संकटलाई पनि पार गर्ने उनले बताए ।
‘नेपालमा चुनौतीहरु धेरै आएका छन्, राजनीतिक परिवर्तन, सुरक्षाका चुनौतीदेखि श्रम सम्बन्धका कारणले पनि समस्या भएको थियो, ७० प्रतिशत कुनै न कुनै कारणले सम्बन्ध बिग्रेको अवस्था थियो र, पनि हामी सबै व्यवस्थापन गरेर अगाडि बढ्यौं,’ उनले भने ।
विगतमा बन्द र हड्तालको अवस्था थियो । यसले नेपालमा कोही पनि लगानी गर्न चाहेका थिएनन् । राजनीतिक अस्थिरता थियो । भुकम्प देख्यौं, नाकाबन्दी देख्यौं । धेरै किसिमको संकट पार गरेर यहाँसम्म आएकाले आगामी दिनमा पनि संकटलाई सफलतापूर्वक पार गर्ने गोल्छाले बताए ।
हामी ‘अन्डर लेबरेज’ अर्थतन्त्रमा रहेका छौं । कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) देखि राष्ट्रले लिएको ऋणको रेसियो हेर्न हो भने विकासशिल देशहरुमा हामी एकदमै कममा छौं । जब ऋण कम हुन्छ यस्ता चुनौती आउँदा त्यसलाई सहन सक्ने ताकत बढि हुन्छ, त्यसैले हामीलाई सजिलो भएको उनले बताए ।
‘त्यस्तै अर्काे ठूलो कारण रेमिट्यान्स हो । रेमिट्यान्सले नै अर्थतन्त्र चलायमान बनाएको छ । हामीकहाँ विदेशी मुद्रा नहुँदा व्यापार गर्ने अवस्था नै हुँदैन । संकटको बेलामा पनि रेमिट्यान्सको आप्रवाह भयो र उपभोग भयो । र आम्दानीमा असर गरेन, त्यसैले पनि संकटमा सजिलो भयो,’ उनले भने ।
मुद्रास्फिती पनि कन्ट्रोलमा छ, प्रतिव्यक्ति आम्दानी १ हजार ५० भन्दा बढेको छ । यो कुनै सानो तिनो चमत्ककार होइन । यो कुनै राजनीतिक कारणले बढेको होइन । यो रेमिट्यान्सकै कारण भएको उनले बताए । ‘तर सँधैभरि रेमिट्यान्सले चल्नुपर्छ भन्ने होइन । हाम्रो उद्योग चल्नुपर्छ । यहाँ रोजगार सिर्जना हुनुपर्छ,’ उनले भने ।

जस्तो सुकै स्थितीमा पनि निजी क्षेत्रले लगानी नगर्ने भनेर विमुख भएनन् । यस्तो महामारीमा मूल्यबृद्धि र अभाव भएको छैन । अस्वभाविक भएको छैन । आपूर्ति प्रणाली बिग्रेन । जस्तो सुकै अवस्थामा पनि निजी क्षेत्रकै कारण अर्थतन्त्र तङ्ग्रिन पाएको उनले बताए ।
‘‘जीडीपी टु रेभिन्यू’ रेसियो हेर्ने हो भने निजी क्षेत्रको राम्रो योगदान देखिन्छ । साउथ एसियामा नै हामी राम्रो अवस्थामा छौं, निजी क्षेत्र देशको समृद्धि हेर्न चाहन्छ, यसलाई करको दायरा बढाएर अझ गर्न सकिन्छ,’ उनले भने । ‘यूएनडिपीको एउटाले सर्वेक्षणले भन्यो कि संकट र महामारीको बेला नेपालको निजी क्षेत्रले ६५ प्रतिशत जिम्मेवारी पुरा गरेको छ, यसबाट पनि थाहा हुन्छ कि हामी विपत् र संकटमा पनि कति जिम्मेवारी छौं भनेर’
अदालतले बन्द हुँदा कर तिर्न पर्दैन भनेको बेला पनि सरकारलाई समस्या पर्छ भनेर जसले तिर्न सक्छ उसले तिर्न पर्छ भन्ने आँट निजी क्षेत्रले गरेको थियो । तर, जसलाई समस्या परेको छ त्यसलाई सरकारले हेर्नुपर्छ भनेर हामी लाग्यौं, यी सबै युनिक विशेषता नेपालको निजी क्षेत्रको भएको उनले बताए ।
‘अहिलेको चुनौती गम्भिर प्रकृतिको छ । अर्थतन्त्र गम्भिर मोडमा छौं । यसबाट पनि पार गरेर अगाडि जान सक्छौं तर पहिलाको भन्दा केहि समय लाग्ने देखिन्छ,’ उनले भने । अबको दिनमा कसरी जाने भनेर हामीले भिजन पेपर बनाएका छौं । व्यापार घाटादेखि लिएर १०० अर्बको अर्थतन्त्र बनाउने कुरा समेटेका छौं । त्यहि भिजनमा हामी हिडेको उनले बताए ।
‘हामीले अब आउने बजेटमा महामारी नियन्त्रण र स्वास्थ्य समस्याको समाधानका लािग भ्याक्सिनलाई जोड दिनुपर्ने सुझाव राखेका छौं, कोभिडको दीर्घकालिन समाधान यहि हो,’ उनले भने । ‘अबको समय स्वास्थ्य पूर्वाधार बनाउने र बढाउने हो ।’
यो महामारीमा संकुचित भएका पर्यटन र मनोरञ्जनका क्षेत्रहरुलाई जुन लकडाउन खुलेपछि पनि तङ्ग्रिएको थिएन अब सरकारले विशेष रुपमा सरकारले हेर्नुपर्छ । सस्तोमा ऋण र कर छुट दिनुपर्छ भनेर सुझाव पेश गरेको उनले बताए ।
‘त्यस्तै कृषिको पूर्वाधारका लागि जोड दिनुपर्छ, कृषिमा हाम्रो उत्पादन कम हुँदै गएको छ, कृषिप्रधान देश भए पनि किसान धनी भएका छैनन्, यो देशको विडम्बना हो, कृषिलाई आधुनिकररण गर्नुपर्छ । किसानलाई सिधै उपभोक्तासँग जोड्ने संयन्त्र हुनुपर्छ,’ उनले भने ।
पूर्वाधार विकासमा हामी धेरै पछाडी परेका छौं । यसले लागत बढाइरहेको छ । पूर्वाधर नहुँदा ढुवानीदेखि हरेक कुरामा लागत महँगो भएकाले यसमा पनि बजेटले सम्बोधन गर्नुपर्ने सुझाव राखेको उनले बताए ।
साना र मझौला र स्टार्टअप व्यवसायको अहिलेको समस्या भनेको कर्जा प्राप्ती हो, सरकारले यसमा विशेष जोड गरेर सहुलियतमा ऋण उपलब्ध गराउनका लागि सरकारलाई ध्यानाकर्षण गराइएको गोल्छाले बताए ।
‘महासंघ साना, मझौला उद्योगलाई उकास्न सकिन्छ भनेर लागिपरेको छ । अहिलेको नेतृत्वले यहि विषयमा प्रोत्साहन गर्न लागेको छ । अर्थतन्त्रलाई अझ बढि गतिमा चलाउन साना र मझौला उद्योग व्यवसायलाई अगाडि ल्याउनुपर्छ भन्ने मान्यता हाम्रो हो,’ उनले भने ।
देशभरका जेसीज युवाहरु रहेको छलफल कार्यक्रमलाई बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदीप राजभण्डारीले सहजीकरण गरेका थिए ।