पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्व शान्ति र मानव कल्याणका लागि बुद्धका वाणीहरू अनुकरणीय रहेको बताइन् ।
२५६५ औं बुद्ध जयन्तीको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्दै प्रमुख पौडेलले सम्पूर्णको सुख शान्ति र समृद्धिको कामनासहित बुद्धले अंगीकार गरेको शान्ति अहिंसा र मानव कल्याणको मार्ग अनुशरण गर्न सके मानिस दुःखी हुन नपर्ने बताइन् ।
शुभकामना सन्देशमा नेपाली भूूूमिमा जन्म लिएका गौतमबुद्ध नेपालको मात्रै नभई महामानवका रूपमा विश्वकै प्रेरणाको स्रोत भएको उल्लेख गर्दै बुद्धले देखाउनु भएको शान्ति, अहिंसा र मानव कल्याणको मार्गमा सबै लागेर सकारात्मक सोचको विकास गर्नुपर्ने उल्लेख छ ।
‘बुद्धले भन्नुभएको छ, संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन्, आज कोरोना महामारीमासँग जुधिरहेका हामी सबैलाई धैर्य गरेर आत्मबल उच्च बनाउने प्रेरणा यी उपदेशले मिल्छ,” सन्देशमा भनिएको छ ।
प्रदेश प्रमुखले आजकै दिन परेको किराँत राई, याक्खा, सुनवार र लिम्बु समुदायको प्रमुख पर्व उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि सम्पूर्णमा सुख शान्ति र समृद्धिको कामना गरेकी छन् ।
विश्व महामारीका रूपमा रहेको कोभिड–१९ को संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गरेर धर्म संस्कार संस्कृति र पर्वहरू मनाउन पनि प्रदेश प्रमुखले सन्देशबाट आग्रह गरिकी छन् ।