काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजार सूचक, कारोबार रकम र सेयर कित्ताले नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । केन्द्रीय बैंकले सेयर बजारलाई केही कस्ने नीति अख्तियार गरे पनि लगानीकर्ता त्यसको कुनै प्रवाह नगरी बजारमा लागिरहेका छन् ।
लगानीकर्ताकै उत्साहजनक सहभागीका कारण बजारले नयाँ रेकर्ड बनाइरहेको छ । सेयर कारोबार रकम झण्डै १५ अर्ब हाराहारी पुगिसकेको छ । सेयर कित्ता संख्या पनि ४ करोड माथि पुगिसकेको छ र सेयर सूचक पनि २८१५ माथि छ ।
खासगरी, गाउँ-गाउँमा रहेका युवा सेयर बजारमा सक्रिय छन् । उनीहरुले दैनिक मजदुरी गरेर कमाएको पैसा सेयर बजारमा लगाएका छन् । त्यसैगरी विदेशमा बस्ने ठूलो जमात पनि सेयर बजारमा लगानी गरिरहेको छ । त्यही भएर कारोबार रकम, सेयर कित्ता र सूचकले नयाँ-नयाँ रेकर्ड बनाइरहेको हो ।
विदेशी भूमिमा पसिना बगाएर कमाएको रकम उनीहरुले सेयर बजारमा लगाएका छन् । त्यही भएर पनि बजारमा चमक आएको छ ।
एकातिर गाउँ, सहर विदेशमा बस्नेसमेत सेयर बजारमा सक्रिय छन् भने अर्कोतिर अनलाइनबाटै कारोबार गर्न सकिने सुविधाले पनि बजारलाई माथि उकास्न थप मद्दत गरेको देखिन्छ ।
यदि सरकारले अनलाइनमार्फत सेयर किन्न सकिने व्यवस्था नल्याएको भए न विदेशबाट युवाले लगानी गर्न सक्थे ? न गाउँ-गाउँका युवाहरु बजारमा आकर्षित हुन्थे ।
विगत केही वर्षयता सेयरबजारमा भित्रिएको प्रविधि अहिले सेयरबजार बढ्नुमा एउटा प्रमुख औजार भएको छ । अन्य उद्यम व्यवसायका लागि भौतिक रुपमै उपस्थितिको खाँचो पर्छ भने सेयरबजारमा यो बाध्यता छैन ।
अहिले लगानीकर्ताले अनलाइनबाटै सेयर किनबेच गर्न सक्ने भएका छन् । विगतजस्तै सेयर दलालको कार्यालयमै धाउनुपर्ने अवस्था भएको भए बन्दाबन्दी र निषेधाज्ञामा सेयर कारोबार सम्भव हुने थिएन । प्रविधिका कारण कारोबार छरितो र पारदर्शी भएपछि लगानीकर्तामा चेतना र उत्साह दुवै विस्तार भएको अवस्था छ, यसले पनि सेयरबजारलाई बढाउने काम गरेको छ ।
त्यसैगरी, सरकारले घरजग्गाको कारोबारलाई नियन्त्रणको नीति लिएकाले पनि सेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको हो । घरजग्गाको कारोबारका नीतिगत कडाइले व्यवसाय खुम्चिनु र लगानी बढी चाहिने भएपछि त्यस्ता व्यवसायी पनि यतिबेला सेयर बजारतिर छिरेका छन् ।
विज्ञहरूले काेरोना महामारी आगामी ४/५ वर्षसम्म कुनै न कुनै रुपमा रहिरहने बताइरहेका छन् ।
यदि यसो हो भने सेयरबजारको उचाइ निरन्तर बढ्ने अनुमान गर्न कठिन छैन । कोरोना महामारीको समयमा अन्य क्षेत्रका लगानीकर्ताले पनि सेयरबजारलाई वैकल्पिक आयको माध्यम बनाएका छन् । अन्य व्यापार व्यवसायमा बन्दाबन्दी र निषेधाज्ञाको मार परे पनि सेयरबजारमा त्यसको असर नपर्ने भएपछि त्यस्ता लगानीकर्ता पनि आकर्षित भएका छन् । यसले सेयरबजारमा रौनक देखिएको हो । प्राथमिक बजारमा मात्र सीमित धेरै लगानीकर्ता अहिले दोस्रो बजारमा प्रवेश गरेका छन् ।