काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष बिजुलीको जडित क्षमता बढाएर झण्डै ३ हजार मेगावाट पुर्याउने भएको छ । आगामी आर्थिक वर्षमा बिजुलीको जडित क्षमता विस्तार भई २ हजार ९४७ मेगावाट पुर्याउने लक्ष्य सरकारले लिएको छ ।
आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोसीबाट २२८, रसुवागढीबाट १११, मध्य भोटेकोसीबाट १०२, तल्लो र माथिल्लो सान्जेनबाट ५७, माथिल्लो त्रिशुली ३ बीबाट ३७ राहुघाटबाट ४० मेगावाट उत्पादन हुने प्रक्षेपण सरकारले गरेको छ ।
यी सबै आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण भइरहेका छन् । यस्तै निजी क्षेत्रबाट १५५ मेगावाट थप गरी महत्वकाँक्षी लक्ष्य पूरा हुने भएको छ । सरकारले चालू आर्थिक वर्षमा बिजुली उत्पादन बढाएर ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।
तर, कोरोनो भाइरस महामारीको दोस्रो छालले निर्माणधिन आयोजना पूरा हुन सकेका छैनन । त्यसले गर्दा यो लक्ष्य पूरा नहुने देखिएको छ । हालसम्म प्रणालीमा ५८ मेगावाट मात्र बिजुली थप भएको छ । कोरोना महामारीको अन्त्य नभएमा आगामी वर्षको लक्ष्य पनि प्रभावित हुने संभावना छ ।
यस्तै बिजुलीको पहुँच विस्तार भई आगामी वर्षभित्र ९७ प्रतिशत जनसंख्याले बिजुली बाल्न पाउने भएका छन । यो वर्षसम्म ९१ प्रतिशत जनताले बिजुली बाल्न पाउने छन् । सरकारले अब अर्धजलासययुक्त ठूला आयोजना निर्माणलाई तिब्रता दिइ उत्पादन बढाउने लक्ष्य लिएको छ ।
नेपाल विद्युत प्राधिकरण र जनताको संयुक्त लगानीमा ९९ मेगावाट क्षमताको तामाकोसी ५ को निर्माण आगामी आर्थिक वर्षदेखि सुरु हुने भएको छ । ६३५ मेगावाट क्षमताको जलाशययत्त दधकोसी आयोजनाको निर्माण सुरु हुने भएको छ ।
तनहुँ जलविद्युत आयोजना निर्माण कायलाई तिब्रता र अर्ध जलाशययुत्त माथिल्लो अरुण आयोजनाको पूर्वतयारीको काम सम्पन्न गरिने भएको छ । यसका लागि ७ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । अरुण, फुकोट कर्णाली,जगदुल्ला, सिम्बुवा तथा घुन्सा खोला आयोजनाको लगानी ढाँचा यकिन गरी पूर्वतयारीको काम गरिने भएको छ ।
७६५ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको काम हुने भएको छ । बूढीगण्डकी, पश्चि सेती, उत्तरगंगा र नलगाड आयोजनाको निर्माण ढाँचा निधारण गरी स्रोत व्यवस्थापनको लक्ष्य राखिएको छ ।
यस्तै कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण लागेको ४४२ मेगावाटको वेतन कर्णाली आयोजनाको पनि निर्माण थालिने बजेटमा उल्लेख छ ।
बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण र कोहलपुरदेखि लखनउ–लम्की–वरेली अन्तरदेशीय लाइन निर्माणको
तयारी पूरा गर्न ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी खम्ती–बाह्रबिसे–काठमाडौं र हेटौंडा–ढल्केवर–इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न र बुटबल–लमही–कोहलपुर–अत्तरिया खण्डको निर्माण पूर्वतयारी गर्न र रसुवागढी–चिलिमे–रातोमाटे खण्डको विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । सरकारले प्रसारणलाइन तथा सवस्टेसन बनाउन ३७ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।