काठमाडौं। जनता केबल इन्डस्ट्रिजले एक वर्षमा साढे १ अर्बको व्यापार गरेको छ। कम्पनीले आल्मुनियम र तामा तारको बिक्रीमार्फत् आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४९ करोड रुपैयाँ बढीको (अपरिस्कृत) आम्दानी गरेको हो।
अघिल्लो आर्थिक वर्ष ०८०८१ मा कम्पनीले ९२ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। एक वर्षको अवधिमा कम्पनीको व्यवसाय ६२.२१ प्रतिशत अर्थात ५७ करोड ३० लाख रुपैयाँ थप भएको हो।
कम्पनीले आव ०७९/८० मा ७२ करोड ५० लाख, आव ०७८/७९ मा ५४ करोड १० लाख र आव ०७७/७८ मा ५१ करोड ५० लाख रुपैयाँ बढीको कारोबार गरेको थियो।
कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिस्कमा रेटिङ गराएको थियो। जसमा इन्फोमेरिक्सले १ अर्ब ६ करोड ४१ लाख रुपैयाँ कर्जा सिमा निर्धारण गरेको छ।
उक्त कर्जा सीमामध्ये २३ करोड ९१ लाख रुपैयाँ दीर्घकालीन कर्जामा ‘बिबी माइनस’ र ८२ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जामा ‘एफोर’ रेटिङ प्राप्त गरेको छ। यो दुवै रेटिङले कम्पनीमा वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको क्षमता र जोखिम रहेको संकेत गर्छ।
कम्पनीकोे कुल वार्षिक उत्पादन क्षमता तामामा आधारित उत्पादनका लागि १६७५ मेट्रिक टन र आल्मुनियममा आधारित उत्पादनका लागि २४१० मेट्रिक टन रहेको छ।
२०६२ सालमा स्थापना मोरङको विराटनगर र सुनसरीको खनारमा कारखाना स्थापना गरी उत्पादन सुरु गरेकोे जनता केवल इन्डस्ट्रिजमा ४९ प्रतिशत अनिता जोधानी र २१ प्रतिशत पवन कुमार अग्रवालको सेयर स्वामित्व रहेको छ। बाँकी अन्य सेयरधनीमा कम्पनीको स्वामित्व रहेको छ।
कम्पानीले तामा र आल्मुनियममा आधारित विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्छ। जुन आवासीय, व्यावसायिक, औद्योगिक र विद्युतीय उपयोगमा प्रयोग हुन्छन्। कम्पनीको उत्पादनमा तामाको हाउस वाइरिङ केबल, फ्लेक्सिबल तार, आर्मर्ड र अनआर्मर्ड केबल, इनामेल तार र अटो केबलहरू पर्दछन्। जुन विद्युतीय स्थापना तथा उत्पादन, विद्युत प्रसारण र गाडीको तारिङका लागि आवश्यक हुन्छन्।
कम्पनीकोे कुल वार्षिक उत्पादन क्षमता तामामा आधारित उत्पादनका लागि १६७५ मेट्रिक टन र आल्मुनियममा आधारित उत्पादनका लागि २४१० मेट्रिक टन रहेको छ। कम्पनीको ‘जनता केबल्स’ ब्रान्डअन्तर्गत उत्पादन बिक्री गर्ने १०७ डिलरहरूको सञ्जाल छ। यसको बिक्री मुख्यतया नेपालभरका दर्ता भएका डिलर र टेन्डरमा आधारित ठेक्कामार्फत हुने गर्दछ।