काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौंडालाई लक्ष्य गरी विभिन्न विकास निर्माणका आयोजना प्राथमिकतामा परेका छन् ।
प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारले पूर्वी मकवानपुरको छतिवनमा कृषि औद्योगिक बजार बनाउने योजना रहेको जनाएको छ । यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौंसँग जोड्ने चित्लाङ–काठमाडौं सुरुङमार्गको योजनासमेत बजेटमा समावेश भएको छ ।
सरकारले मकवानपुरको हेटौंडामा रहेको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुतअनुसार आगामी दुई वर्षभित्र मकवानपुरको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र पूरा गर्ने जनाएको छ ।
यसैगरी काठमाडौँको बालाजुमा रहेको विभिन्न उद्योग प्रतिष्ठान स्थानान्तरण गरी मयुरधापमा गए त्यस्ता उद्योगलाई १० वर्षसम्म जग्गा भाडा छुट दिने उल्लेख गरिएको छ ।
यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौंसँग जोडने चित्लाङ–काठमाडौँ सुरुङमार्गको निर्माण शुरुआत आगामी आर्थिक वर्षबाट हुने भएको छ । आव २०७८/७९ को प्रस्तुत बजेट अनुसार यो आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको हो ।
यसैबीच मकवानपुरको विकासको मेरुदण्ड बनेको मदन भण्डारी राजमार्गअन्तर्गत चतरा–हेटौंडा सडकखण्डको बाँकी काम आगामी वर्ष सम्पन्न हुने भएको छ । यस सडकका लागि सरकारले आवश्यक बजेट छुट्याएको छ । प्रस्तुत बजेटअनुसार मदन भण्डारी विश्वविद्यालयअन्तर्गत मकवानपुरको चित्लाङमा निर्माणाधीन इञ्जीनियरिङ कलेज आगामी वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ ।
यसैगरी बजेटमा हेटौंडा उपमहानगरपालिका–१८ स्थित हर्नामाडीमा निर्माणाधीन खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने जनाएको हो । रासस