काठमाडौं। इराकले प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ। तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएको छ।
तेल स्रोतमा धनी भए पनि इराक दशकौँ लामो युद्ध र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ। कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको छ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय अघि बढाउनुपर्ने अवस्था रहेको छ ।
'अमेरिकाका सार्वजनिक तथा निजी क्षेत्रका निकायबीच ४८ वटा सम्झौता, समझदारीपत्र, सहयोग सम्झौता र साझेदारीसम्बन्धी घोषणा भएका छन्,' प्रधानमन्त्रीको सञ्चार कार्यालयले जनाएको छ।
सम्झौतामा इराकका तेल तथा विद्युत् मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सनमोबिल, केबीआर, जीई भेर्नोभा, शेल र हलिबर्टनबीचको सहकार्य तथा साझेदारी समावेश छन्।
यसैगरी, इराक र सिरियाबीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माणसम्बन्धी केही सम्झौता पनि भएका छन्। इराकले स्याटेलाइट सञ्चार सेवा प्रदायक स्टारलिंकसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ।
मंगलबार ह्वाइट हाउसमा भएको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जैदीको प्रशंसा गर्दै उनलाई ‘च्याम्पियन’को संज्ञा दिएका थिए। व्यवसायी पृष्ठभूमिका जैदी अर्का उम्मेदवारलाई ट्रम्पले अस्वीकार गरेपछि यसै वर्ष अमेरिकी समर्थनमा सत्तामा आएका थिए।
उनले इराकको कमजोर अर्थतन्त्र सुधार गर्ने तथा अमेरिकी प्रतिष्ठानमाथि आक्रमण गर्दै आएका इरान समर्थित सशस्त्र समूहलाई निशस्त्र पार्ने प्रतिबद्धता जनाएका थिए। इराकले लामो समयदेखि आफ्ना प्रमुख सहयोगी अमेरिका र छिमेकी इरानको परस्पर विरोधी प्रभावबीच सन्तुलन कायम गर्दै आएको छ।