काठमाडौं । नीति नभएको भन्दै नेपाल राष्ट्र बैङ्कले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भारतको भारतीय स्टेट बैङ्क (एसबीआई) लाई भुक्तानी गर्नुपर्ने परामर्श शुल्क रोकिदिएको छ ।
नेपालमा स्थापना भएको कम्पनीले विदेशी बैङ्कलाई परामर्श शुल्क तिर्ने नीतिगत व्यवस्था नभएपछि राष्ट्र बैङ्कले एसजेवीएनबाट एसबीआईलाई तिर्ने शुल्क रोकिदिएको हो । अरुण तेस्रोको मुख्य ऋण लगानीकर्ता एसबीआईले लगानी गर्नुपूर्व आयोजनाको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरी एप्रेजियल रिपोर्ट बनाउन लागेको खर्च १३ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।
प्रवद्र्धक एसजेवीएन र एसबीआईबीच एप्रेजियल रिपोर्टको पैसा भुत्तानी गर्ने सहमति भएको थियो । सो रकमलाई सावाँमा पुँजीकरण गर्न सकिने भए पनि सिधैँ भुक्तानी गर्ने सहमतिले गर्दा समस्या आएको एसजेबीएनका एक अधिकारलीले क्यापिटल नेपाललाई बताए । उनले केही दिनभित्र समस्या समधान हुने विश्वास व्यक्त गरे ।
ऋण लगानी गर्नु पूर्व एसीबीआईले आयोजनाको आर्थिक र प्राविधिक दुबै पक्षको बेग्लै अध्ययन गरेको थियो । एसबीआईले ऋण लगानी स्वीकृति गर्नका लागि सञ्चालक समितिमा पेश गर्न अध्ययन प्रतिवेदन तयार पारेको हो । अध्ययन गर्दा लाग्ने खर्च प्रवद्र्धक एसजेवीएनले व्योहर्ने सहमति भएको थियो ।
शुल्क भुक्तानीमा भएको ढिलाइले आगामी सेप्टेम्बर अन्तिम अर्थात असोज १३ गतेसम्म ऋण लगानी सम्झौतामा हस्ताक्षर हुने मिति परसर्ने सम्भावना बढेको छ । निर्धारित समय सकिने अब करिब डेढ महिना मात्र बाँकी छ । सो मितिसम्म पनि ऋण सम्झौतामा हस्ताक्षर नभए आयोजना निर्माणको समय लम्बिन सक्ने सम्भावना रहेको ती अधिकारीको भनाइ छ ।
निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रोको २२ प्रतिशत काम सकिएको छ । आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच ऋण लगानीका सम्झौताको ड्राफट तयार भइसकेको छ ।
एसजेबीएनले एसबीआईबाट ४१ अर्ब भारु अर्थात ६५ अर्ब ६० करोड रुपैयाँ ऋण लिँदैछ । आयोजनामा नेपालका नबिल र एभरेस्ट बैङ्कले गरी ९ अर्ब भारु अर्थात १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्न गत मार्चमा सहमतिपत्र (एमओयू) गरेका छन्।
भारतको एसबीआई र नेपालका एभरेस्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात ५० अर्ब भारु ऋण लिनेछ । एसजेबीएनले २६ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ । एसजेबीएनलाई अझै १ वर्ष लगानीको समस्या नहुने देखिएको छ ।
एभरेस्टमा भारतको पञ्जाब नेसनल बैङ्कको मुख्य लगानी छ । एभरेस्टले प्रसारणलाइनमा लगानी सम्झौता गरिसकेको छ । आयोजनाको विद्युत्गृह सङखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म २६८ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ ।
विद्युत् उत्पादन संरचना बनाउन एसबीआई र नेपालका नबिल र एभरेस्टले ऋण लगानी गर्नेछन् । प्रसारणलाइन बनाउन पञ्जाब नेसनलसँग ऋण सम्झौता भइसकेको छ । नेपालको एभरेस्टले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनलसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन खर्च हुनेछ । एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । ४ लटमा आयोजनाको काम हुनेछ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।