काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६३ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले रेलमार्ग, जल यातायात, सुरुङमार्ग सार्वजनिक यातायात क्षेत्रका लागि उक्त बजेट विनियोजन गरेको हो ।
काठमाडौं तीनकुने–जडिबुटी खण्डमा सुरुङमार्ग निर्माणका लागि १ अर्ब ८० करोड बजेट छुट्याइएको छ । साथै टोखा–छहरे–गुर्जुभञ्ज्याङ, वेत्रावती–स्याफ्रुबेंसी, बेत्रावाती–स्याफ्रुबेंसी, खुर्कोट–चियावारी र थानकोट–चित्लाङ सुरुङमार्गको निर्माण कार्य अगाडि बढाउने अर्थमन्त्री विष्णु पौडेलले बताए ।
अर्थमन्त्री पौडेलका अनुसार, आगामी आर्थिक वर्षमा दर्ता भएका सबै सवारी साधनमा रेडियो फ्रिक्वेन्सी पहिचान सहितको इम्बोस नम्बर सातै प्रदेशबाट वितरण हुनेछ । मालबाहक तथा अन्य साधनमा जीपीएस जडान तथा सार्वजनिक यातायातमा ई–टिकेटिङ लागू गर्ने बताइएको छ ।
काठमाडौं उपत्यका यातायात विकास प्राधिकरण गठन गरी सार्वजनिक परिवहन सञ्चालनलाई व्यवस्थित बनाइने मन्त्री पौडेलले बताए ।
देहका प्रमुख सहर क्षेत्रमा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने मन्त्रीले बताए । साझा यातायातमार्फत काठमाडौं न्यूनतम १ सय विद्युतीय बस सञ्चालन गरिने उनले बताए ।
त्यस्तै विद्युतीय सवारी साधनको प्रयोग बढाउन आगामी आर्थिक वर्ष निजी क्षेत्रको सहभागितामा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा ५ सय चार्जिङ स्टेसन, टर्मिनल भवनलगायत पूर्वाधारको निर्माण गर्ने मन्त्री पौडेलले बताए ।
त्यस्तै नागढुङ्गादेखि धादिङको सिस्नेरीसम्मको सुरुङमार्ग निर्माण कार्य २ वर्षभित्र सञ्चालन गरिने बटेजमा उल्लेख छ । जसका लागि ९ अर्ब ८५ करोड विनियोजन भएको छ । आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा–दोभान खण्ड, दोलखाको लामाबगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान–लेउतीसुरुङमार्ग निर्माण कार्य सुरु गर्न बजेट विनियोजन भएको छ ।
पृथ्वी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, कोहलपुर–सुर्खेत राजमार्ग, सुर्खेत–दैलेखलगायतमा राजमार्गमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ ।
त्यस्तै, आगामी वर्ष जनकपुर–कुर्ता–विजयपुर र जोगवनी–विराटनगरमा रेल सेवा सञ्चालन गर्ने बजेटमा उल्लेख छ । साथै बर्दिवास स्टेसनको काम सुरु तथा काठमाडौंमा मेट्रो रेल र सहरी केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री पौडेलले बताए ।
बर्दिवास–निजगढ खण्डको ट्रयाक वेल्ट निर्माण सम्पन्न गर्ने उनले बताएका छन् । त्यस्तै रक्सौल–काठमाडौं तथा केरुङ–काठमाडौं–पोखरा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने बजेटमा उल्लेख छ । रेलमार्गको लागि अर्थ मन्त्रालयले १० अर्ब ३ करोड रकम छुट्याएको छ ।