काठमाडौं । आइतबार नयाँ रेकर्ड बनाएको नेप्से दुई दिनदेखि निरन्तर ओरालोतर्फ अघि बढेको छ । सरकारले बजेट ल्याएपछि कारोबार रकमले नयाँ रेकर्ड बनाएपछि बजार सूचक पनि सामान्य अंकले झर्ने क्रम चलिरहेको थियो ।
बजारमा साना लगानीकर्ताले बजार घट्न सक्ने भन्दै प्यानिक सेलमा उत्रिएपछि त्यसको असर बजारमा परेको देखिन्छ । तर, ठूला लगानीकर्ताले अहिले पनि आफूसँग भएको सेयर फ्यालेका छैनन् । त्यही भएर उनीहरुले बजार कहिले बढ्ने र कहिले घट्ने भएर अघि बढ्नुपर्ने बताउँछन् । अहिले त्यही भएको उनीहरुको बुझाइ छ ।
सोमबार र मंगलबार निरन्तर बजार घटेको छ । खासगरी वर्षौंदेखि केही नदिने जलविद्युत्, घाटामा रहेका जलविद्युतका कारण सूचक घटेको केहीको आँकलन छ ।

साना लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर अन्धाधुन्ध बेचेकाले बजारमा त्यसको नकारात्मक असर परेको बुझाइ छ । जलविद्युत् कम्पनीको वास्तविक अवस्था सार्वजनिक भए पछि साना लगानीकर्ता मध्ये कतिपयले नाफा बुक गरेका छन् भने कतिपयले घाटा खाएरै भए पनि सेयर बेच्दा बजार सूचक घट्नमा केही मद्दत पुगेको देखिन्छ ।
यद्यपि, यसलाई ठूला र राम्रो कम्पनीको सेयर किन्ने लगानीकर्ताले सही रुपमा लिएका छन् । बजार एकोहोरो बढ्दा पनि समस्या हुन्छ । त्यही भएर कहिले घट्ने र कहिले बढ्ने गरेर अघि बढ्नुपर्छ । साना लगानीकर्ताले पनि राम्रा कम्पनी हेरेर मात्रै लगानी गर्नुपर्ने हुन्छ ।

वर्षौंसम्म केही नदिने कम्पनीमा साना लगानीकर्ता ओइरिएकाले ठूला लगानीकर्ता चिन्तित पनि बनेका थिए । चिन्तित एक अर्थमा कि, भोलि सूचीकृत कम्पनीप्रति लगानीकर्ताको विश्वास नै गुम्छ भनेर ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६८ अंकले घटेर २७७१.७१ विन्दूमा आइपुगेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । विगत केही दिनदेखि कारोबार रकमले रेकर्ड बनाइरहेको थियो । तर, नयाँ रेकर्ड बनाएपछि कारोबार रकम निरन्तर घटेर मंगलबार साढे ८ अर्ब ५९ करोड रुपैयाँ माथि कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै होटल, ट्रेडिङ निर्जीवन बिमा र जलविद्युत् कम्पनीको सेयर मूल्य घटेको छ ।
