काठमाडौं । सचेत लगानीकर्ता बैंकतिर आकर्षित हुन थालेका छन् । केही समय वर्षौसम्म केही नदिने जलविद्युतमा झुम्मिएका लगानीकर्ता विस्तारै विकास तथा वाणिज्य बैंकतिर फर्किएका छन् ।
सचेत लगानीकर्ता बैंकमा फर्किँदा बजारमा उक्त समूह सूचकको सेयर मूल्यमा उछाल आएको छ । खासगरी, वाणिज्य बैंक तथा विकास बैंकमा लगानीकर्ता आकर्षित हुन थालेका छन् ।
बैंकहरुले आम्दानी बढाएको र प्रतिफल पनि राम्रो दिने देखिएपछि केही समयदेखि जलविद्युतमा झुमिएका लगानीकर्ता विस्तारै बैैंकिङ समूहतिर सिफ्ट भएका हुन् ।
सोझा लगानीकर्तालाई महँगो मूल्यमा सेयर बेचेर नाफा लिएपछि सचेत लगानीकर्ता बैंकतिर लाग्दा बजारमा त्यसको सकारात्मक असर देखिएको छ ।
लगानीकर्ताले कम्पनीको वास्तविक वित्तीय अवस्था नहेरी सेयरमा लगानी गर्दा राम्रा कम्पनीको सेयर मूल्य बढ्न सकेको थिएन । सामाजिक सञ्जालमा बदनाम कम्पनीको सेयरमा साना र सोझा लगानीकर्ता लागेको र जुनसुकै बेला पनि डुब्न सक्ने सन्देश फैलिएपछि धमाधम नाफा बुक गरेर बैंकतिर लगानीकर्ता लागेको देखिन्छ ।
कतिपय जलविद्युत् कम्पनीले वित्तीय विवरणसमेत सार्वजनिक गर्न सकेका छैनन् । वार्षिक साधारणसभा नगर्ने कम्पनीको कारोबार रोक्न धितोपत्र बोर्डमा लगानीकर्ताले उजुरी समेत दिएपछि सोझा लगानीकर्ता बैंकतिर लागेको देखिन्छ ।
लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको बारेमा राम्रोसँग विश्लेषण नगरी सेयर किन्न हुँदैन । अन्धाधुन्ध लगानी गर्दा सोझा लगानीकर्ताको रकम डुब्न सक्छ ।
पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । बिहीबार हाइड्रोपावर समूहको परिसूचकमा करेक्सन आएको छ । हाइड्रोबाट प्रोपिट बुक गरेर लगानीकर्ताले विकास बैंक, वाणिज्य बैंक र फाइनान्स कम्पनीको सेयरमा लगानी गरेको देखिन्छ । सोही कारण ती तीनै समूहका कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
साताको अन्तिम कारोबार दिन पनि अधिकांश विकास बैंक, वाणिज्य बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।
बिहीबार वाणिज्य बैंक, फाइनान्स कम्पनी र विकास बैंक चम्किँदा सेयर बजारमा हरियाली समेत छाएको मात्रै छैन, सूचकले अलटाइम उच्च भएको छ । यस अघिको २८२७ अंकलाई उछिन्दै २९ अंकले बढेर २८५६.६८ विन्दूमा पुगेको हो ।
साताको अन्तिम दिन १५ अर्ब ९० करोड रुपैयाँ कारोबार भएको छ। यो दोस्रो ठूलो कारोबार हो । यसअघि १७ अर्ब रुपैयाँमाथि कारोबार भएको थियो ।