काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ धितोपत्र दलाललाई प्रवेश गराउने बताएका छन् । उनले बजारको आकार बढ्दै गएकाले धितोपत्र दलाललाई प्रवेश गराउन ब्रोकर लाइसेन्स प्राथमिकतामा रहेको बताएका छन् ।
अध्यक्ष ढुंगानाले सेयर कारोबार व्यवस्थापन प्रणालीलाई अझ बढी प्रभावकारी बनाउने र ऋणपत्रलाई थप गतिशील बनाउन नयाँ धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने तयारी भएको स्पष्ट पारेका छन् । सेयर बजारलाई गाउँगाउँसम्म पुर्याउन बैंकहरुले ब्रोकर लाइसेन्स माग गरिरहेका छन् ।
थप धितोपत्र दलाल व्यवसायी र उनीहरुको आधिकारिक प्रतिनिधिको व्यवस्था गरी देशभरी सेयर खरिद बिक्रीको पहुँच बढाउने योजना रहेको उनले स्पष्टपारेका छन् ।
हालसम्म बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिन आनकानी गरिरहेका बेला अध्यक्ष ढुंगानाले बजारलाई थप प्रतिस्पर्धी बनाउन ब्रोकर लाइसेन्स खुलाउने स्पष्टपारेका हुन् । धितोपत्र बोर्ड २९ औं वर्षमा प्रवेश गरेको अवसरमा जनाएको प्रतिवद्धतामा उनले बढ्दो बजारले गर्दा थप ब्रोकर आवश्यक भएको उल्लेख गरेका छन् ।
पछिल्लो समय दोस्रो बजारमा सेयर कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको र बोर्डले चालेका कदमहरुबाट सेयर बजारमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढ्दै गएको, डिम्याट र मेरो सेयर खातामा खोल्नेको संख्या उल्लेख्य बढेको र प्राथमिक निष्कासन (आईपीओ) भर्नेको संख्या बढेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

उनका अनुसार आईपीओमा १८ लाख लगानीकर्ताले खरिदका लागि आवेदन दिएका छन । आईपीओ भर्नेको संख्या बढ्दै गएको बोर्डले जानकारी गराएको छ । चालु आर्थिक वर्षको १० महिनामा ७८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन भएको उनले जानकारी गराए । यो रकम २८ वर्षमा सबैभन्दा उच्च हो ।
यस्तै कोरोना भाइरस महामारीका कारण जारी लकडाउन तथा निषेधाज्ञामा पनि सेयर कारोबार बढेको र कारोबारको लागत घटाइएकाले लगानीकर्ताको थप आकर्षण बढेको उनले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् । अन्य क्षेत्रमा लगानी संकुचन आउँदा बैंकिङ प्रणालीमा भएको अधिक तरलता सेयर बजारमा आउँदा कारोबारले नयाँ रेकर्ड राखेको छ ।
आईपीओ निष्कासनमा स्वतन्त्र मूल्यको व्यवस्था गरी वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी परिचालनका लागि आकर्षित गर्न बुकबिल्डिङ लागु गरिएको र संस्थागत लगानीकर्तालाई सेयर बजारमा प्रवेश गराउन नागरिक स्टक डिलर सञ्चालनमा ल्याइएको अध्यक्ष ढुंगानाले जानकारी दिए ।
यसैगरी बोर्डले पुँजी परिचालनमा नयाँ संयन्त्रको विकास गर्न प्राइभेट इक्टिी, भेञ्चर क्यापिटलल र हेज फण्ड जस्ता पाँचवटा विशिष्टिकृत सहमति दिएको उनले बताए ।
हाल पुँजी बजारको विस्तारका लागि ४ वर्षे रणनीतिक योजना बनाइ लागू गरिएको छ । हाल प्रविधिको प्रयोगका कारण ९० प्रतिशत सेयर कारोबार अनलाईबाट हुने गरेको बोर्डले जनाएको छ । धितोपत्र बजारलाई नियमन गर्न सरकारले २०५० जेठ २५ गते बोर्डको स्थापना गरेको हो ।