काठमाडौं । एक वर्षको अवधिमा लगानी बोर्डले स्वदेशी र विदेशी गरी विभिन्न ५ कम्पनीको ९ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको स्वदेशी तथा वैदेशिक लगानी स्वीकृत गरेको छ ।
लगानी स्वीकृत हुनेमा केबलकार, सोलार परियोजना, होटल, ग्राभिटी र म्याग्नेटबाट बिजुली उत्पादन गर्ने जस्ता महत्वकाङ्क्षी परियोजना छन् । ग्राभिटी र म्याग्नेट प्रविधिबाट बिजुली उत्पादन गर्ने नयाँ योजना हो ।
लगानीकर्ताबाट प्राप्त प्रस्तावलाई स्वीकृत गरिएको बोर्डले जनाएको छ । बोर्डबाट स्वीकृत भए पनि परियोजना निर्माणका लागि लगानी भने आएको छैन ।
मुक्तिनाथ दर्शन प्रालि नेपालको ३५ अर्ब, जापान क्लब इन्टरनेशनलको १४ अर्ब, डोल्मा फण्ड म्यानेजमेन्टको २२ अर्ब, इबीएम नेपालको २७५ अर्ब र ग्राभिटी इनर्जी लिमिटेड हङकङको ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बोर्डले सार्वजनिक गरेको गत वर्षको प्रतिवेदनमा उल्लेख छ ।
प्रस्ताव सबै प्रारम्भिक चरणमा रहेकाले आयोजना आर्थिक रुपमा सम्भाव्य भए मात्र लगानी आउने छ । मुक्तिनाथ दर्शन प्रालिले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८३ किलोमिटर विश्वकै लामो केबलकार बनाउन सो लगानी प्रस्ताव गरेको हो ।
२०१८ को अप्रिल २८ मा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्डको सञ्चालक समिति बैठकले परियोजना प्रस्ताव स्वीकृत गरेको थियो । केबलकार सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको क्रममा रहेकाले लगानी बोेर्डले जनाएको छ । डीपीआर तयारीपछि परियोजनाको काम अघि बढ्ने छ ।
जापान क्लबले काठमाडौं, भक्तपुर र पोखरामा गरी तीन ओटा तारे होटल बनाउने प्रस्ताव गरेको छ । गत वर्षको सेप्टेम्बर १८ मा बसेको सञ्चालक समिति बैठकले आयोजना प्रस्ताव स्वीकृत गरेको हो ।
त्यस्तै डोल्मा फण्डले १७० मेगावाटको सोलार प्रविधिबाट ऊर्जा उत्पादन र ब्याट्रीस्टोरेज आयोजनाका लागि लगानीको प्रस्ताव गरेको छ । परियोजनाको काम अघि बढाउन सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।
इबीएम नेपालले डिजिटल म्यागनेटिक इक्युवेटर जेनेरेटर सिस्टमबाट ५०० मेगावाट बिजुली उत्पादन गर्नका लागि सो रकम लगानीको प्रस्ताव गरेको हो । सो आयोजनाको प्रस्ताव स्वीकृतको क्रममा रहेको बोर्डले जानकारी दिएको छ ।
ग्राभिटी इलेक्ट्रिकले ग्राभिटी प्रविधिबाट तीन हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि प्रस्ताव पेश गरेको छ । यसको प्रस्तावको गहन अध्ययन भइरहेको बोर्डले बताएको छ ।
प्रस्ताव स्वीकृत भए पनि लगानी नखुलाएको टर्कीको एनएमजी ग्रुपले निजगढ दोस्रो अन्तर्राट्रिय विमानस्थल निर्माण र सञ्चालनका लागि २०१८ मार्च २६ मा प्रस्ताव पेश गरेको थियो ।
बोर्डले उसले प्रस्ताव गरेको लगानी भने खुलाएको छैन । विकास खाकाको बारेमा अध्ययन जारी रहेको बोर्डले जानकारी दिएको छ । काठमाडौं–पोखरा, कुरिनटार–लुम्बिनी रेल पूर्वाधार निर्माण र पूर्व–पश्चिमसम्म विद्युतीय रेल सञ्चालनको प्रस्ताव पेश गरेको थियो ।
नारायणी नदीमा रिभर पोर्ट सञ्चालन गर्न नभीट्रेड सिङ्गापुरले नेपालको पीएनजी टेक्नोलोजिजसँगको सहकार्यमा लगानीको प्रस्ताव पेश गरेको थियो । उसको लगानीको प्रस्ताव स्वीकृत हुन बाँकी छ ।
बोर्डका ३ ओटा आयोजना मात्र कार्यन्वयनमा
बृहत् लगानीका २ दर्जनभन्दा बढी प्रस्ताव प्राप्त भए पनि ३ ओटा परियोजना मात्र कार्यन्वयनमा गएका छन् । भारतीय लगानीको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
हालसम्म २२ प्रतिशत काम सकिएको प्रवद्र्धक एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
नेपाल र चिनियाँ संयुक्त लगानीमा सञ्चालनमा आएको होङ्सी शिवम् सिमेन्टले दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गरिरहेको छ । यस्तै नेपाली र चिनियाँ लगानीमा आएको हुवासिन नारायणी सिमेन्ट उद्योगले कारखाना स्थापनाको काम गरिरहेको छ ।