काठमाडौं । बुधबार साना लगानीकर्ताले आत्तिएर सेयर बेच्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटे पनि बिहीबार लगानीकर्ता टिक्दा बजारबाट ठूलो करेक्सनको सम्भावना टरेको छ ।
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा गरिएको लगानी जोखिमपूर्ण भन्दै सूची निकाले पछि बुधबार लगानीकर्ताहरु प्यानिक सेलमा उत्रिएका थिए । त्यसैको असर बुधबारको सेयर बजारमा परेको थियो ।
साना लगानीकर्ता र ब्रोकरहरुले धमाधम सेयर बेच्न थाले पछि बजार घटे पनि साताको अन्तिम दिन बजारमा प्यानिक सेल छैन् । लगानीकर्ताले घाटा खाएर सेयर बेच्ने कार्य रोकेको देखिन्छ ।
बुधबार विकास बैंक, फाइनान्स र जलविद्युत् कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो । त्यसैगरी, वाणिज्य बैंक, तथा अन्य समूह पनि घटेको थियो । तर, साताको अन्तिम दिन विकास बैंकमा हरियाली छाएको छ ।
बिहीबार लगानीकर्ताले धैर्यता देखाएका छन् । महँगोमा सेयर किनेका लगानीकर्ताले बजार घट्न थाले पछि धमाधम सेयर बेच्न उत्रिएका लगानीकर्ताहरु बिहीबार घाटा खाएर सेयर बेच्न रोकेका थिए । त्यही भएर बजारमा ठूलो करेक्सन आएन ।
आजदिनभर सेयर बजार हरियाली हुने र फेरि घट्ने क्रम चलिरह्यो । खासगरी ब्रोकर कम्पनीले धमाधम आफूसँग भएको सेयर फ्याले पनि साना लगानीकर्ताले आफूसँग भएका कुनै पनि सेयर नफाल्दा बजार टिकेको देखिन्छ ।
सामाजिक सञ्जालदेखि क्लवहाउसमा भएको छलफलमा समेत प्यानिक सेलमा उत्रिनु आवश्यक नरहेको भन्ने सन्देश प्रवाह भएकाले लगानीकर्ता नआत्तिएको देखिएको हो ।
बुधबार जुन जुन कम्पनीको सेयरमा गिरावट आएको थियो । साताको अन्तिम दिन सोही सेयरको मूल्यमा वृद्धि देखिएको छ । बुधबार बेचेका लगानीकर्ताले बिहीबार सोही कम्पनीको सेयर किनेको पनि देखिएको छ । जसका कारण विकास बैंक, फाइनान्स र जलविद्युतको मूल्य बढेको देखिन्छ ।
बुधबार ५२ अंकले घटेको बजार बिहीबार १.२९ अंकले मात्रै घटेर २९६८.४३ अंकमा रोकिएको छ । तर, बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने घटेको छ । बुधबार झण्डै १६ अर्ब कारोबार भएकोमा बिहीबार १० अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बुधबार ब्रोकरले आफूसँग भएको सेयर फ्याक्दा कारोबार रकम उचालिए पनि बिहीबार उनीहरुले सेयर नकिने पछि कारोबार रकम नबढेको देखिन्छ । बिहीबारको सेयरको प्याट्रन हेर्दा आइतबार बजार बढ्ने सम्भावना देखिन्छ ।