काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै एक साता थपेको छ । काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ। निषेधाज्ञा भने धेरै खुकुलो बनाइने भएको छ। निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने भएको छ । यस्तै बारअनुसार पसल पनि खोल्न पाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आइतबार बसेको बैठकले निषेधाज्ञा थप गरी आर्थिक गतिविधि थप खुलाउने निर्णय गरेको छ ।
जोर बिजोरअनुसार निजी सवारी साधन चलाउन दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार अन्य सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन । ट्याक्सीहरूलाई पनि जोरबिजोर लागू गरेर चलाउन दिइने भएको छ।
आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ । सोमबार , बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ।
यसैगरी खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।
निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।शनिबार अत्यावश्यकबाहेक अन्य पसलहरू बन्द गर्नुपर्ने भएको छ ।