काठमाडौं । निरन्तर बजार घट्न थालेपछि आत्तिएर सेयर बेच्न थालेका लगानीकर्ताहरुले मंगलबार धैर्यता कायम गर्दा बजारमा हरियाली छाएको छ ।
बजारमा सामान्य करेक्सन आउन थालेपछि आत्तिदै सेयर बिक्रीमा उत्रिएका लगानीकर्ताहरु मंगलबार केही धैर्यता देखाउँदा बजारले बढोत्तरी यात्रा तय गरेको छ । महँगो मूल्य सेयर किन्ने पनि साना लगानीकर्ता र घाटा खाएरै बेच्ने पनि उनीहरु नै हुन् ।
यदि ठूला लगानीकर्ता किनेको मूल्य भन्दा तल झर्यो भने उनीहरु बेच्दैनन् । टिक्न सक्र्ने धैर्यता ठूला लगानीकर्तामा हुन्छ । तर, साना लगानीकर्ता आत्तिएर सेयर बेच्दा आर्थिक रुपमा ठूलो क्षति उनीहरुलाई पुग्छ ।
अहिले भएको त्यही हो । बजार घट्दा जति सेलिङ प्रेसर बढ्यो, त्यो सबै साना लगानीकर्ताले बेचेकाले यस्तो अवस्था सिर्जना भएको हो । यो बीचमा ठूला लगानीकर्ताले सेयर बेचेनन् । उनीहरु मार्केटमा परिपक्क पनि भइसकेका छन् । तर, साना लगानीकर्ताहरु मार्केट घट्ने वित्तिकै आत्तिने र हतार हतार सेयर बेच्न उत्रिने गरेको देखिन्छ ।
तर, मंगलबार साना लगानीकर्ताले ठूलो धैर्यता देखाउँदा बजारमा उछाल आएको छ । लगातार बजार घट्न थालेपछि उनीहरुले सेलिङ प्रेसर बन्द गरेका हुन् । त्यही भएर बजार टिक्न सकेको देखिन्छ ।
लगातारको गिरावटपछि बजारमा विस्तारै प्यानिक सेल सकिएको अनुमान गरिएको छ । आत्तिएर सेयर बिक्री गर्नेहरु अब सकिन लागेकाले बजार विस्तारैमा लयमा फर्किने देखिन्छ ।
तथापि, बजारले अझै पनि निश्चित दिशा समाइसकेको प्रष्ट भने भएको छैन । प्यानिक सेल भने विस्तारै सकिँदै गएको अनुमान गरिएको छ । सर्वसाधारण लगानीकर्ताले आत्मबल गुमाउँदा बजार कमजोर भएको हो । धितोपत्र बोर्डले बढ्दो क्रममा रहेको बजार ब्रेक लगाउन ५१ कम्पनीको रेड लिस्ट सार्वजनिक गरेपछि लगानीकर्ता हतोत्साही भएका हुन् ।
तर यो काण्ड अब विस्तारै सेलाउने अपेक्षा गरिएको छ । किन भने बजारमा एक लेभलको करेक्सन भइसकेको छ । लाभांशको मुखमा सबल वित्तीय सूचक भएका कम्पनीहरु होल्ड गर्न सके निकट भविष्यमा लाभ लिन सकिन्छ ।
लामो समयदेखि सुस्त रहेको वाणिज्य बैंक समूहमा विस्तारै लगानीकर्ताको आकर्षण देखिन थालेको हो । सोमबार अधिकांश वाणिज्य बैंकको सेयर भाउ बढेको छ । मूल्य सामान्य हिसाबले मात्र बढेको भए पनि यस समूहका कम्पनीहरुको खरिदबिक्री कित्ता राम्रो छ । यतिबेला औसतमा सबैभन्दा सस्तो भाउ वाणिज्य बैंकहरुकै रहेको देखिन्छ ।
बजार हरियाली छाउँदा पनि सबल वित्तीय सूचक, सक्षम नियमन भएको क्षेत्र भए पनि वाणिज्य बैंकहरुको सेयर मूल्य भने निकै तल छ । अहिले सबैभन्दा सुरक्षित लगानीको क्षेत्र पनि बैंक नै मानिएको छ । सोही विश्लेषणका आधारमा आम लगानीकर्ताहरु विस्तारै बैंकतिर आकर्षित हुने अनुमान गरिएको छ ।
आम लगानीकर्ताहरुले सुझबुझपूर्ण हिसाबले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सक्नुपर्छ । कम्पनीको सञ्चालक, व्यवस्थापन, विगतको कमाई, लाभांश वितरण क्षमता, भविष्यको योजना, व्यवसाय विस्तारको सम्भावना, आफ्नो जोखिम बहन क्षमता लगायतका पक्षमा ख्याल गर्दै अघि बढ्न जरुरी हुन्छ ।
लगानीकर्ता आफैंले सबल र कमजोर कम्पनी छुट्याउन सक्नुपर्छ । सस्तो ब्याजदर, बैंकमा सहज तरलता अनि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्दा नेप्सेले नयाँ–नयाँ उचाईहरु बनाउन सकेको हो ।
साताको तेस्रो मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.४४ अंकले बढेर २९१३.२८ बिन्दूमा पुगेको छ । त्यसैगरी कारोबार रकम सोमबारको तुलनामा केही घटेको छ । मंगलबार १० अर्ब २८ करोड रुपैयाँ बरारबको सेयर किनबेच भएको छ ।
सोमबार नेप्से ७१.७ अंकले घटेर २८३४.४० बिन्दूमा आइपुगेको छ । आइतबारको तुलनामा सोमबार झनै नेप्से घटेको हो । आइतबार नेप्से सूचक ६३।२८ अंकले घटेर २९०५।१४ विन्दुमा आइपुगेको थियो । सोमबार कारोबार रकम भने थोरै बढेको छ । यसदिन ११ अर्ब ८४ करोड रुपैयाँबराबर कारोबार भएको छ । आइतबार ११ अर्ब ८१ करोड रुपैयाँ मात्रै थियो ।