काठमाडौं । अस्पतालहरुले अक्सिजन उद्योगबाट भरी सिलिन्डर लगेर विरामीलाई बेच्ने गरेको पाइएको छ । धरौटी रकम नै नबुझाइ उद्योगहरुबाट सिलिन्डर लिएर जाने र बिरामीलाई बेच्ने गरेको उद्योगीले बताएका छन् ।
उद्योगीले बारम्बार धरौटी बुझाएर मात्रै अक्सिजन सिलिन्डर लैजान गरेको आग्रहलाई अस्पतालहरुले बेवास्ता गरिरहेका छन् । धरौटी बुझाएर सिलिन्डर लैजादा बिरामीलाई बेच्न पाइँदैन । त्यही भएर उनीहरुले धरौटी बुझाउन नमान्ने अक्सिजन उत्पादक संघले बताएको छ ।
दैनिक ८ सय सिलिन्डर भएका उद्योगसँग अहिले जम्मा २ सय मात्रै छन् । बाँकी ६ सय सिलिन्डर अस्पतालले फिर्ता नै नदिएको संघले जनाएको छ ।
‘उद्योगीले नगद तिरेर ल्याएको सिलिन्डर अस्पतालले हरायो भन्ने जवाफ दिन्छ’ संघका अध्यक्ष गौरव शारडाले भने, ‘अर्काको सम्पत्ति लैजाने । अनि हरायो भन्ने जवाफ दिन मिल्छ ?’
अस्पतालबाट सिलिन्डर हराएको नभई बिरामीलाई बेचेको उद्योगीले आरोप लगाएका छन् । देशमा अक्सिजनको अभाव भएपछि प्रहरीले खोजतलास गर्दा कवाडी गोदामबाट ठूलो परिमाणमा अक्सिजन सिलिन्डर फेला पारेर ल्याएको थियो ।
ती सबै सिलिन्डर अस्पतालले कवाडीलाई बेचेको उद्योगीको आरोप छ । ‘उपभोक्ताले बेच्ने कुरा हुँदैन्,’ शारडाले भने, ‘उद्योगीले आफ्नो सम्पत्ति बेच्दैनन् । कहाँबाट कवाडीको गोदाममा पुग्यो त ?’
उद्योगीबाट अस्पतालले निःशुल्क अक्सिजन सिलिन्डर लिएर गए, कतिपय बिरामीलाई बेचे भने कतिपय सिलिन्डर कवाडीमा बेच्दा उद्योगीलाई ठूलो मात्रामा आर्थिक नोक्सान भएको उनीहरुको भनाइ छ ।
उद्योगीले बारम्बार सरकारसँग धरौटी लिएर मात्रै अस्पतालले सिलिन्डर लैजान पाउन व्यवस्था गर्न आग्रह गरेका थिए । तर, सरकारले उद्योगीको गुनासोलाई सुनुवाई नगर्दा अक्सिजन उद्योग गम्भीर आर्थिक संकटमा परेका छन् ।
उद्योगले उत्पादन गरेको अक्सिजनमध्ये २० देखि २५ प्रतिशत अस्पतालले लैजान्छन् । त्यही अक्सिजन सिलिन्डर अस्पतालले बेच्ने गरेको उनीहरुको आरोप छ ।
शारडाका अनुसार सिलिण्डर आपूर्ति गर्दा आवश्यक डिपोजिट रकम नदिने तथा सिलिण्डर हराउने समस्या भएको त्यसैका कारण उद्योग घाटामा जाँदा बैंकबाट लिइएको ऋणको ब्याजमा पनि जरिवाना तिर्नुपरिरहेको छ ।
सरकारलेसमेत महामारीको समयमा जुन सिलिण्डरहरु उद्योगीहरुसँग लिएको छ, ती सिलिन्डर समेत अहिलेसम्म फिर्ता भएका छैनन् । यसका कारण उद्योगहरुलाई अक्सिजन प्लान्ट सञ्चालन गर्न महँगो परिरहेको छ ।
एलपी ग्यास जस्तै सिजन सिलिण्डर पनि जुन कम्पनीको हो त्यही कम्पनीले मात्र भर्ने व्यवस्था मिलाउन सकेमा एकलौटी बजारको अन्त्य हुने उनीहरुको भनाइ छ ।
कर तथा अन्तशुल्क तिरेर खरिद गरेका प्लान्ट र अक्सिजन सिलिण्डरले लागत तथा सञ्चालन खर्च धेरै बढी भइरहेको छ । अहिले एकातिर उद्योग उत्पादन ५० प्रतिशतमा झरेको छ । उद्योगहरुले १२ घण्टा सञ्चालनमा आउँदा पनि ५० प्रतिशत क्षमतामा मात्र सञ्चालन भएका छन् ।