काठमाडौं । श्रृंगारका सामान आयातमा १० अर्ब रुपैयाँ नेपालबाट बाहिरिएको छ । नेपालीहरूको आयस्तरमा भएको वृद्धि र श्रृंगार चेतनामा व्यापकता देखिएसँगै त्यस्ता वस्तुको आयात दोहोरो अंकले बढिरहेको देखिएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको श्रृंगारका सामग्री आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिएको छ । लेपन वर्गको अंश नेपालको श्रृंगार प्रसाधनको कुल आयातको करिब ३७ प्रतिशत रहेको छ । यसैगरी कपाल सम्बद्ध प्रसाधनको अंश करिब ३० प्रतिशतको हाराहारीमा रहेको छ । सुगन्धित तैलादिको अंश पनि मुलुकको श्रृंगार प्रसाधनको आयातको करिब २४ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ ।
खासगरी, रोजगारीमा विदेश जाने प्रचलन बढेसँगै उनीहरूमा आएको चेतनाको प्रभावले नेपालमा यस्ता सामानको माग दिनानुदिन बढ्दै गएको देखिएको छ । त्यसका अलवा नेपालीहरूको आयस्तरमा आएको सुधारले पनि आयात वृद्धि गरेको देखिन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारतबाट मात्रै ७ अर्ब ११ करोड रुपैयाँबराबरको श्रृंगारका सामग्री नेपाल आयात भएको थियो । यो कुल आयातको ७४ प्रतिशत हो । त्यसैगरी, चीनबाट ७२ करोड, थाइल्यान्डबाट ५७ करोड, भियतनामबाट २५ करोड, इन्डोनेसियाबाट १२ करोड, जर्मनीबाट १० करोड र अन्य मुलुकबाट ७६ करोड रुपैयाँ गरी कुल ९ अर्ब ६३ करोड रुपैयाँबरारबका मेकअपका सामान आयात भएको हो ।
अहिले देशभर करिब १२ हजार कस्मेटिक व्यवसायी यसमा संलग्न छन् । यसका अतिरिक्त किराना पसल, डिपार्टमेन्ट स्टोर, सैलुन, ब्युटिपार्लर, फेन्सिस्टोर, मेडिकलबाट पनि सौन्दर्यका सामग्री बिक्री हुन्छ ।
गाउँमा भन्दा सहरमा यसको खपत अझ बढ्दो छ । गाउँका भन्दा सहरका नागरिक चार गुणा बढीले सौन्दर्य सामग्री खपत गर्ने गर्छन् । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता सामग्रीको सरकारले गुणस्तर पनि निर्धारण गरेको छ ।