काठमाडौं. नवनियुक्त अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न परम्परागत र नियमित प्रक्रियाबाट नभई 'क्रमभंगता' गरेर अघि बढ्ने उद्घोष गरेका छन्। पदभार ग्रहण गरेलगत्तै अर्थ मन्त्रालय मातहतका निकाय र कर्मचारीहरूलाई निर्देशन दिँदै उनले आफू केवल एउटा मन्त्री पद उपभोग गर्न मात्र नभई विशेष अर्थ–राजनीतिक जनादेश र विराट् लक्ष्यसहित आएको स्पष्ट पारेका छन्।
मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा अर्थ सचिवले मन्त्री वाग्लेको विद्वताको प्रशंसा गर्दै योजनाहरू सफल पार्न कर्मचारी संयन्त्रले हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसको प्रत्युत्तरमा मन्त्री वाग्लेले कर्मचारीतन्त्रलाई राजनीतिक पूर्वाग्रह र दलीयकरणको छायाँबाट पूर्णतः टाढा रहन कडा निर्देशन दिएका छन्।
उनले स्पष्ट शब्दमा भनेका छन्, "म राजनीतिक पूर्वाग्रह राख्दिन, पुराना दलीयकरणका छायाँहरू छाड्नुस्। म केवल मेरिट र इमान्दारितालाई हेर्छु।" कर्मचारीहरूलाई लोकसेवा परीक्षा उत्तीर्ण गर्दा देश बनाउने सन्दर्भमा लेखिएका निबन्धहरू स्मरण गर्न आग्रह गर्दै मन्त्री वाग्लेले अब कुनै पनि बहानामा घुस खाने वा खुवाउने समय सकिएको घोषणा गरेका छन्।
सुशासन र जनताको हितमा कुनै पनि सम्झौता नगर्ने अडान राख्दै मन्त्री वाग्लेले नेतृत्व सही भएमा तल्लो तहका कर्मचारीले पनि गलत गर्न नसक्ने तर्क गरेका छन्। "माछा टाउकोबाट बिग्रन्छ भन्छन्, हामी ठिक भएपछि कर्मचारीले पक्कै गलत गर्न सक्नुहुन्न," भन्दै उनले कर्मचारीहरूलाई गाली वा आलोचना गर्नुभन्दा पनि असल राजनीतिक नेतृत्व दिएर सुधारको मार्गमा डोर्याउने बताएका छन्। राम्रो काम गर्नेलाई सधैं साथ र माया रहने तर मुलुकले चाहेको 'ट्रयाक' भन्दा बाहिर जाने र गलत बाटो समात्नेलाई कुनै हालतमा नछोड्ने उनको चेतावनी छ।
अहिलेको सरकारले विगतका विसङ्गति चिर्नका लागि दुई-तिहाइ बहुमतको ऐतिहासिक जनादेश पाएको उल्लेख गर्दै मन्त्री वाग्लेले यसैको बलमा बरालिएको आर्थिक पुनर्संरचनालाई पुनः ट्रयाकमा ल्याउने दाबी गरेका छन्। आर्थिक राजकाजको वास्तविक रूपान्तरण आगामी बजेटमार्फत देखिने बताउँदै उनले कर्मचारीहरूलाई आफ्नो सम्पूर्ण योजना र क्षमता प्रयोग गर्न आह्वान गरेका छन्।
कार्यदिशामा सुशासन, आर्थिक रूपान्तरण, दीर्घकालीन योजना र रूपान्तरणकारी आयोजनाहरूमा हस्तक्षेपकारी ढङ्गले काम गर्ने सोच रहेको छ। विशेषगरी नेपाली अर्थतन्त्रलाई डायस्पोरासँग जोड्दै "एक पटकको नेपाली, सधैंको नेपाली" भन्ने भावनाका साथ उनीहरूको लगानी र सम्पत्तिको सुरक्षा सुनिश्चित गरिने र त्यसपछि मात्र विदेशी लगानीको लहर आउने मन्त्री वाग्लेको विश्लेषण छ।