काठमाडौं । यो साता कारोबार रकममा निरन्तर गिरावट आएको छ । गत सातासम्म दैनिक कारोबार रकम १२ अर्ब रुपैयाँमाथि हुने गरेको गत आइतबारदेखि निरन्तर घट्दो ट्रेन्डमा देखिन थालेको छ ।
आइतबार ११ अर्ब ८२ करोड मात्रै कारोबार भयो । सोमबार ११ अर्ब ८४ करोड रुपैयाँ पुग्यो । आइतबारको तुलनामा सोमबार नगन्य मात्रामा कारोबार रकम बढेको देखिन्छ । मंगलबार कारोबार रकममा ठूलो गिरावट आएको थियो । मंगलबार १० अर्ब २८ करोड रुपैयाँमै सीमित बन्यो । बुधबार ८ अर्ब ३६करोड रुपैयाँ मात्रै कारोबार भएको छ । त्यसैगरी बुधबार पनि कारोबार रकममा उल्लेखिय गिरावट आएको छ ।
सेयर बजारमा कारोबार रकम बढ्नुलाई राम्रो वा शुभ संकेतको रुपमा लिइँदैन । यसले बजार अझै अस्थिर र झर्न सक्ने संकेत गर्छ ।
कारोबार रकममा उछाल आउनु भनेको सेयर बजार बुलिस ट्रेन्डमा अघि बढ्छ भन्ने संकेत गर्नु हो । तर, जब-जब कारोबार रकमले ओरालो यात्रा समाउँछ, तब-तब बजार बियरिस ट्रेन्डमा जान्छ ।
ठूला लगानीकर्ताका अनुसार सूचक घट्यो भने पनि कारोबार रकम बढ्यो भने त्यसले भोलिपल्ट सूचक बढ्ने सम्भावनालाई चित्रित गर्छ । तर, यदि सूचक हरियो भएर बन्द भयो भने पनि कारोबार रकम घट्यो भने भोलिपल्ट मार्केट घट्न सक्ने संकेतको रुपमा लिइन्छ ।
हुन त, कारोबार रकमलाई मात्रै आधार मानिँदैन । कतिपय लगानीकर्ताले सूचकसँगै र कारोबार रकम घट्नु बजारमा लागि राम्रो भएको रुपमा ब्याख्या गर्छन् । यो साता सूचकसँगै कारोबार रकम घटेको छ । मंगलबार सूचक ७९ अंकले बढ्दा कारोबार रकम भने घटेको थियो । त्यसलाई पनि लगानीकर्ताले शुभ संकेतको रुपमा लिएका थिएनन् ।
एकथरी लगानीकर्ताहरु कारोबार घट्नुलाई राम्रो रुपमा लिन्छन् । किनभने सेलर नआएको रुपमा बुझिन्छ । घटेर सेयर किन्न बसे तर बेच्नेले घटेर बेचेन भन्ने हो ।
लगानीकर्ताले बुझ्नुपर्ने अर्को पक्ष, सेयर बजार घटबढ भइरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया पनि हो । आम लगानीकर्ता यस्तो बेला हतोत्साही हुनु हुँदैन । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्ने दीर्घकालीन लगानीकर्ताका लागि यस्तो उतारचढावले खासै असर गर्दैन । लाभांश केन्द्रित भएर लगानी गर्न सक्नुपर्छ । घटेका बेला सके किन्ने नसके पनि राम्रोसँग होल्ड गर्न अनुभवीहरुले सल्लाह दिँदै आएका छन् ।
आफ्नो जोखिम बहन क्षमतालाई भने जहिले पनि ख्याल गर्नुपर्छ । घटेको बजार फेरि माथि जान्छ भन्नेमा विश्वस्त हुन आवश्यक छ । अहिले सेयर बजारको मुख्य सिजन हो । साउन लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्नेछ । त्यसपछि कम्पनीहरुले लाभांश घोषणा गर्न थाल्नेछन् । यसर्थ, अहिले सेयर होल्ड गर्नेले छोटो समयमै लाभांश हात पार्न सक्नेछन् । त्यही भएर पनि आम लगानीकर्ता संयमित हुन जरुरी छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.६५ अंकले घटेर २८६२.१८ बिन्दूमा आइपुगेको छ । मंगलबार ७९ अंकले बढेको थियो । त्यसैगरी, बुधबार ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । यो मंगलबारको तुलनामा झण्डै ४० प्रतिशत कम हो ।