काठमाडौं । चालु आर्थिक वर्ष ०७७/०७८ को ११ महिनामा निर्यात ३७.७८ प्रतिशतले बृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयातसगैँ निर्यातमा वृद्धि हुन थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७७/०७८ को ११ महिनाको (साउदेखि जेठसम्म) तथ्याङ्कअनुसार यस अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८८ अर्ब ३१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
यसैगरी ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अबधिको तुलनामा २५.६७ प्रतिशतले आयातमा बृद्धि भएको छ ।
गत आवमा सोही अबधिमा ११ खर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जेठमा मात्रै १ खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।
तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २४.६१ प्रतिशतले बृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार ११ महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा भएको छ ।
आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २४.६१ प्रतिशतले व्यापार घाटा भएको हो ।
वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.९४ र निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ । आयातको हिस्सा मात्र ०.७१९ प्रतिशतले घटेको छ । चालु आवको सो अधिमा कूल वैदेशिक व्यापारमा वृद्धि भएको छ । ११ महिनाको अबधिमा १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
गत आवको तुलनामा सोही अवधिमा ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २६.५६ प्रतिशतले व्यापारमा बृद्धि भएको छ ।
सो अवधिमा नेपालमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ । यस्तै, भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत वस्तु सबैभन्दा धेरै नेपालबाट निर्यात भएका छन् ।