विराटनगर । मोरङका १७ वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट निर्धारित अवधिमै ल्याएका छन् । यसअघिका असार १० गतेभित्र सबै पालिकाको बजेट आउने गरेको थिएन । आगामी आर्थिक वर्षको बजेट भने सबैले संवैधानिक व्यवस्था अनुसारको समयमा ल्याउन सफल भएका छन् ।
असार १० गतेको समय अवधि भित्रै मोरङ सबै स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट ल्याएका हुन । कतिपय स्थानीय तहहरुले असार १० अगावै नीति तथा कार्यक्रम र बजेट नगर तथा गाउँ सभामा पेश गरिसकेका थिए ।
मोरङमा विराटनगर महानगरपालिकाले सबैभन्दा बढी ४ अर्ब १० करोड र ग्रामथान गाउँपालिकाले सबैभन्दा कम ४४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
कुन स्थानीय तहले कति ल्याए बजेट ?
मोरङको विराटनगर महानगरपालिकाले ४ अर्ब १० करोड ३ लाख, सुन्दरहरैचा नगरपालिकाले २ अर्ब १५ करोड १२ लाख, बेलबारी नगरपालिकाले १ अर्ब ३५ करोड ७० लाख, पथरीशनिश्चरे नगरपालिकाले ९५ करोड ६६ लाख, लेटाङ नगरपालिकाले ९० करोड ८६ लाख रुपैयाँ रहेको छ ।
यस्तै उर्लाबारीले ८५ करोड ७४ लाख, रंगेली नगरपालिकाले ७१ करोड ७८ लाख, रतुवामाई नगरपालिकाले ६७ करोड ४५ लाख, सुनबर्षीले ५८ करोड ५३ लाख रुपैयाँको बजेट पेश गरेका छन् ।
त्यसैगरि केराबारी गाउँपालिकाले ८० करोड ८९ लाख ६४, कानेपोखरीले ७६ करोड ९७ लाख, मिक्लाजुङ गाउँपालिकाले ७० करोड ७१ लाख, बुढीगंगाले ५६ करोड ३२ लाख, धनपालथान गाउँपालिकाले ४८ करोड १५ लाख, जहदाले ४७ करोड ७५ लाख, कटहरीले ४४ करोड ९९ लाख, ग्रामथानले ४४ करोड २ लाख रुपैयाँ बराबारको बजेट ल्याएका छन् ।