काठमाडौं । निरन्तर घटिरहेको सेयार बजार साताको पहिलो दिन हरियो देखिएको छ । खासगरी नियामक निकाय धितोपत्र बोर्डले ५१ कम्पनीको सूची प्रकाशित गरेपछि घटेको बजार आइतबार हरियाली भएको हो ।
आइतबार वाणिज्य बैंक, ट्रेडिङ, हाइड्रोपावरको सेयर मूल्यमा बढोत्तरी देखिएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तयार गर्न थालेपछि बजार केही दबाबमा भने परेको छ ।
केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिले बजारलाई प्रत्यक्ष प्रभाव पार्छ । उसले अंगिकार गरेका नीतिलाई हेरेर बजार घट्ने वा बढ्ने भन्ने निक्र्यौल हुन्छ । खासगरी, बजारमा कसरी तरलता व्यवस्थापन गर्छ ? ब्याजदर बढ्छ वा घट्छ ? मार्जिक कर्जाको सीमालाई चलाउँछ वा चलाउँदैन ? १८० दिनको गणनाा विधिलाई हेरेफेर गर्छ वा गर्दैन् भन्ने कुराले बजार प्रभाव हुने वा नहुने हुन्छ ।
पछिल्लो केही महिनायता बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहलाई आक्रामक बनाइरहेका छन् । डिपोजिटको तुलनामा कर्जा प्रवाह बढेको छ । यसरी कर्जा प्रवाह भइरहँदा भोलि बजारमा तरलता अभाव हुने र यसले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने हुन्छ । बजारमा तरलता अभाव हुन नदिन र ब्याजदरलाई एकल अंकमा राख्न केन्द्रीय बैकको भूमिका कस्तो रहन्छ भन्ने कुराले बजार कता जान्छ भन्ने संकेत गर्छ ।
हुन त अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजार अनुकूल मन्त्रीको रुपमा ग्रहण गरिसकेको छ । पौडेल अर्थमन्त्री भएर आएपछि बजारले रफ्तार लिएको हो । अर्थमन्त्री पौडेलकै कारण केन्द्रीय बैंकले पनि बजारअनुकूल नीति अंगिकार गरेको देखिन्छ । यस अर्थमा अहिले पनि बजारलाई नकारात्मक असर पार्ने गरी मौद्रिक नीति नआउनेमा लगानीकर्ताहरु आशावादी भएको देखिन्छ ।
तर, केन्द्रीय बैंकका अधिकारीहरु बजार अस्वभाविक रुपमा बढेको र यसलाई केही लगाम लगाउनुपर्नेमा छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्नुपर्ने धारणा समेत राखिरहेका छन् ।
पछिल्ला समय वित्तीय विवरण राम्रा भएका कम्पनीको सेयर मूल्य नबढ्ने र खराब वित्तीय विवरण भएका, वर्षौसम्म केही दिन नसक्ने कम्पनीको मूल्य आकासिए पछि बजारलाई अनियन्त्रित हुनबाट जोगाउनुपर्ने आवाज उठेको हो । यद्यपि, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत के कस्ता कुरालाई समावेश गर्ने छ भन्ने अहिल्यै थाहा हुँदैन ।
यदि केन्द्रीय बैंकले सेयर बजारलाई लगाम लगाएको अवस्था राम्रा कम्पनीको सेयर मूल्यमा कुनै असर नपर्न सक्छ । तर, वित्तीय विवरण राम्रा नभएका र वर्षौैसम्म केही पनि प्रतिफल दिन नसक्ने कम्पनीमा लगानी गर्दा त्यस्तो लगानी भने खतरामा पर्ने सक्ने देखिन्छ । त्यही भएर लगानीकर्ताले सचेत भएर लगानी गर्नुपर्ने देखिन्छ ।
साताको पहिलो दिन आइतबार बैंकिङ समूहको सेयर मूल्य बढेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३८ अंकले बढेर २८७०.३८ विन्दूमा पुगेको छ । त्यसैगरी कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँ भएको छ ।