काठमाडौं । साताको पहिलो दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्थिर जस्तै (८.८४ अंकले घटेर २८३४.५२ बिन्दूमा रोकियो) देखिएको छ । बिहीबार २८४३ अंकमा रोकिएको बजार सूचक आइतबार कारोबार खुल्ने वित्तिकै बढेर २८५२ हुँदै २८५७ अंकसम्म पुगेको थियो । तर, त्यसपछि बजार ह्वात्तै घटेर २८३८ मा पुग्यो । फेरि बढेको बजार २८५१ सम्म चढ्यो । त्यसपछि पनि बजार घट्ने र बढ्नेक्रममै रहयो । २८३२ सम्म झरेको बजार अन्तिममा भने २८३४ मा कारोबार रोकिएको हो ।
आइतबार कारोबार रकममा भने गिरावट देखिएको छ । यसदिन ५ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ करोड २८ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७८ लाख रुपैयाँ कारोबार भएको थियो । कारोबार कित्ता नै घट्नु भने चिन्ताको विषय हो ।
नजिकिँदो मौद्रिक नीतिको अपेक्षा र त्यसले ब्याजदर, लाभांश वितरण र हकप्रद सेयर जारी गर्न पाउने अधिकार तथा गाभ्ने÷गाभिने तथा खरिद गर्ने सम्बन्धमा चाल्ने नीति, साउन १ गतेबाट कार्यान्वयनमा आउन लागेको ७.५ प्रतिशत पुँजीगत लाभकर, असारमसान्तभित्र कर बुझाउनुपर्ने बाध्यता, बैंकको ब्याज तथा किस्ताको दबाब, ब्रोकरहरुले उधारो कारोबार पनि गरिरहेका भन्ने स्थिति र सर्वोच्च अदालतबाट प्रतिनिधि सभा विघटनको विषयमा आउन सक्ने फैसलाको आंकलनका कारण बजार स्थिर जस्तै छ ।
चालू आर्थिक वर्ष सकिन १० दिन मात्रै बाँकी रहँदा लगानीकर्ताहरुले बजार आफ्नो नियन्त्रणमा लिन खोजिरहेका छन् । त्यसका लागि ब्रोकर र ठूला लगानीकर्ताले मूल्य झार्न अधिकतम प्रयास गरिरहेका छन् ।
जसको दबाबमा साना लगानीकर्ता परिरहेका छन् । अफवाहमा लगानी गरेका लगानीकर्ताहरु सेयर सूचक घट्ने वित्तिकै आत्तिने गर्छन् । र उनीहरु साना साना अन्तरमा पनि खेल्न खोज्छन् । जसले बजारलाई सधै दबाबमा राख्छ । यस्तोमा घटेर बेच्ने प्रतिस्पर्धा हुन्छ र लगानीकर्ताहरुले ठूला कम्पनी भन्दा साना कम्पनी (जसलाई आफूले नियन्त्रणमा राख्न सक्छन्) रोज्छन् ।
पछिल्लो समय वित्तीय आधार नभएका साना कम्पनीहरुको सेयर मूल्यमा उछाल आउनु त्यसैको द्योतक हो । कोभिडका कारण होटल क्षेत्रको कारोबार शून्य छ । तर, होटलहरुकै मूल्य उछाल आएको छ । त्यसैगरी, होटल समूहमै रहेको चन्द्रागिरीले आइतबार मूल्य वृद्धि पाएको छ । गत बिहीबार पनि होटल समूहमा उछाल देखिएके थियो ।
केही समय अघि विभिन्न साना कम्पनीहरुमा मूल्य उछाल आएको भन्दै नियामक नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सूची नै सार्वजनिक गर्नुपरेको थियो । यद्यपि, त्यो सूचीका बारेमा अनेक कोणबाट बहस जारी छ । बोर्डले लगानी जोखिम भएको भनेर जुन जुन कम्पनीको सूची निकाल्यो, तिनै कम्पनीको सेयरमा पनि चमक देखियो ।
यसले ठूला लगानीकर्ता र सीमित ब्रोकरहरु त्यस्ता कम्पनीमा केन्द्रीय भएका छन्, जसको फ्लोरसिट हेरेर साना लगानीकर्ताहरु पनि फलानो ब्रोकरले सेयर उठायो भन्दे उठाउने र बेच्यो् भन्दै बेच्न प्रवृत्ति हाबी हुँदै गएको छ । यसले बजारलाई चलायमान र दीर्घकालीन लाभका आधारमा अघि बढाउने भन्दा पनि क्षणिक लाभ लिने प्रयोजनमा अग्रसर हुँदा दीर्घकालीन क्षति व्यहोर्नुपर्ने अवस्थामा पुर्याएको छ ।
लगानीकर्ताहरुले घटेको बजारमा सचेतता पूर्वक लगानी गर्ने र बढेको बजारमा बढी लोभ नगरी नाफा बुक गर्ने गर्नुपर्छ । तर, दीर्घकालीन लगानीकर्ताले भने कम्पनीहरुको आधारभूत पक्षको विश्लेषण गरेर मूल्य तय गर्दा पछुताउनु पर्दैन ।