काठमाडौं । सेयर बजारलाई प्रत्यक्ष असर पार्ने मौद्रिक नीतिले कस्तो दिशा लिन्छ भन्ने आम चासो रहँदा सेयर लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेका छन् । मौद्रिक नीतिले सेयर बजारलाई नियन्त्रण गर्छ भन्ने अफवाह फैल्याएर बजारलाई घटाउने प्रयास भइरहेको कतिपय लगानीकर्ताहरु बताउँछन् ।
मौद्रिक नीतिले बजारलाई प्रभावित बनाउने आँकलन गर्न थालेसँगै नयाँ र साना लगानीकर्ता बढी आत्तिएका छन् । अब के हुने हो भन्ने अन्योलता पनि उनीहरुमा बढेको छ । सोही कारण बजार थप सुस्त हुन गएको हो ।
कर तिर्नुपर्ने, बैंकको साँवा र ब्याज भुक्तानीको दबाबले पनि बजारले सुस्त बनाउन सहयोग गरेको हो । लकडाउन सहज हुँदा पनि कतिपय आकलझुकल आउने लगानीकर्ता आफ्नै कामतिर लाग्दा कारोबार रकममा केही असर गरेको अनुमान गरिएको छ ।
सेयर बजार सकारात्मक हुन आम लगानीकर्ताको मनोबल सुधार हुनैपर्छ । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ । बजार लामो समयदेखि सुस्त बन्दा सेयर मूल्य भने निकै सस्तो भइसकेको छ । सबल कम्पनीहरुको समेत भाउ निकै सस्तो भएकाले सर्वसाधारण लगानीकर्तालाई छानीरोजी किन्ने अवसर प्राप्त भएको छ । सस्तो भएका बेला किन्ने रणनीति बनाउने लगानीकर्तालाई यो राम्रो अवसर पनि हो ।
सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले पनि निकै ठूलो भूमिका निर्वाह गर्दछ । आफ्नो वित्तीय अवस्थाको ख्याल गर्दै लाभांंश क्षमता राम्रो भएका कम्पनीहरुमा लगानी गर्न सके निकै छोटो समयमा लाभांशको हकदार हुन सकिनेछ । साउन लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थाल्नेछ । त्यसपछि लाभांश घोषणा र साधारण सभाको सिजन सुरु हुनेछ ।
यसर्थ, अहिले सेयर होल्ड गर्दा निकै छोटो अवधिमा लाभांश पाउन सकिन्छ । यसतर्फ स्मार्ट लगानीकर्ताले विचार गर्नुपर्ने हुन्छ । लगानीकर्ताले कुनै पनि कम्पनीको नाफा, रिजर्भ, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात तथा भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई ख्याल गर्दै लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।
यस्तै, पीई रेसियो समेत अध्ययन गर्दै सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सके जोखिम न्यूनीकरण गर्न र अधिकतम लाभ लिन सहयोग पुग्न सक्छ । लगानी गर्दा होल्ड गर्ने पिरियडका बारेमा पनि निश्चित हुनुपर्छ । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कस्तो प्रकारको लगानी गर्ने भन्ने पूर्वयोजना बनाउन सके निकै सजिलो हुने अनुभवी लगानीकर्ताहरुको भनाइ रहेको छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अंकले घटेर २८०१.१३ बिन्दूमा आइपुगेको छ । जेठ ३१ गते ३०२५ बिन्दूमा पुगेको बजार त्यसयता निरन्तर ओरालो यात्रामा छ । त्यसैगरी यसदिन ४ अर्ब ५८ करोड ५८ लाख रुपैयाँबराबरको १ करोड १६ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबार ४ अर्ब २२ करोड ४० लाख रुपैयाँबराबरको १ करोड १ लाख कित्ता सेयर किनबेच थियो छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम र कित्ता संख्यामा सामान्य वृद्धि भएको छ ।