काठमाडौं । नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले झण्डै ११ अर्ब रुपैयाँको (१० करोड डलर) वित्तीय सहयोग उपलब्ध गराउने भएको छ ।
बिहीबार विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपाल सरकारको ‘फ्लेगसिप’ विद्यालय क्षेत्रको विकास कार्यक्रम र स्वास्थ क्षेत्रको सार्वजनिक संसाधन व्यवस्थापन दक्षता सुधार गर्न दुबै क्षेत्रमा ५/५ करोड डलर सहयोग अनुमोदन गरेको हो ।
‘गरिब र कमजोर जनमानसमाझ नेपालको शैक्षिक क्षेत्र र बलियो स्वास्थ्य प्रणालीलाई विकास गर्नु मानव पूँजी विकासका लागि एकदमै महत्वपूर्ण छ,’ नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका प्रमुख फारिस हादाद जेर्भोसले भने ।
विद्यालय संकाय विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने सहायताले विद्यालय छोड्ने र पढाइमा भइरहेको घाटाको समस्यालाई समाधान गर्ने विश्व बैंकको विश्वास छ । उसले वित्तीय सहयोगको माध्यमबाट गरिब लक्षित छात्रावृति, विज्ञान छात्रावृति तथा ‘क्याचअप प्रोग्राम’हरु सञ्चालनमा ल्याउने बताएको छ ।
यसबाहेक नेपालको स्वास्थ क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रमका लागि प्रदान गरिने ५ करोड डलरको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको रणनीति कार्यन्वयनलाई थप एक वर्षसम्म सहयोग पुर्याउँदै दिगो परिणाम हासिल गर्न सहयोग पुग्ने विश्वास बैंकको छ ।
नेपालले पारदर्शी र जवाफदेही प्रणालीका साथ स्वास्थ क्षेत्रको संसाधन व्यवस्थापनमा सुधार ल्याएको खण्डमा आगामी दिनमा थप वित्तीय सहयोग इन्सेन्टिभस्वरुप प्रदान गरिने विश्व बैंकको प्रोग्राम टास्क टिम लिडर संगिता क्यारोल पिन्टोले बताइन् ।