काठमाडौं । नेपाल–भारतबीच रेल सेवा सम्झौता संशोधनमा हस्ताक्षर भएको छ । संशोधनमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई तथा भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर (ट्राफिक ट्रान्सिपोर्टेसन) सुशान्तकुमार मिश्रले हस्ताक्षर गरेका हुन् ।
यसअघि संशोधनका लागि विभिन्न चरणमा छलफल भएको थियो । सोही छलफलमा नेपाल र भारतबीच आदन प्रदान भएको लेटर अफ एक्सचेन्जमा दुवै देशको सहमतिमा असार १४ नेपाल र असार १५ गते भारतका तर्फबाट हस्ताक्षर भएको हो ।
संशोधन भएसँगै नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्धिपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्था भएको छ ।
यो पनि हेर्नुहोस
रेलवे सम्झौता संशोधनपछि पूर्वका व्यवसायीले भने,-केजीमै २ रुपैयाँसम्म घट्न सक्छ लागत
भारतका निजी रेल सेवा प्रदायकहरुले नेपालको लागि ढुवानी सेवा दिने तथा सेवा उपलब्ध गराइरहेका अनुमति प्राप्त कार्गो ट्रेन अपरेटरहरुले नेपालको पारवहनको लागि ढुवानीका सेवा दिने व्यवस्थासमेत गरिएको छ ।
त्यस्तै भारतीय रेल सेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/ वागनहरु नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने र निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी हुने बताइएको छ ।
यो पनि हेर्नुहोस
१२ वर्षको प्रयासपछि नेपाल–भारत रेलवे सम्झौता संशोधन, व्यापार सहजीकरणमा नयाँ फड्को
त्यस्तै नेपाल लक्षित परिवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि काेलकाता/हल्दियासम्म रेल सेवा दिन सक्नेगरी सम्झौता संशोधन भएको छ ।
हाल वीरगञ्जसम्म रेल सञ्चालन भएकोमा विराटनगर, भैरहवा र इनरुवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात सेवा उपलब्ध हुने र नेपाल-भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन बिन्दुमा तथा द्धिपक्षीय व्यापार नाकाहरुको सहमतिका आधारमा रेल सञ्चालन हुँदै जाने पनि सहमति भएको जनाइएको छ ।
त्यस्तै पहिलाको जसरी सामान आयात–निर्यात गर्दा रेल सेवामा लाग्ने शुल्क अग्रिम रुपमा कलकत्ताबाट मात्र नभइ नेपालका बाणिज्य बैंकमार्फत सोझै भुत्तानी गर्न सकिने भएको छ ।