विराटनगर । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विराटनगर भन्सारबाट वस्तु आयात बढेको छ । ११ महिनाको अवधिमा १ खर्ब ७१ अर्ब ३९ करोड ३२ लाख ३७ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ ।
आयातको तुलनामा निर्यात भने निकै कम भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३० अर्ब ९८ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । निर्यातभन्दा १ खर्ब ४० अर्ब ४० करोड ६२ लाख ५ हजार रुपैयाँ बढीको सामान आयात भएको देखिन्छ । ८१.९२ प्रतिशत बढीको सामान आयात भएको देखिन्छ ।
भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले विराटनगर नाकाबाट हुने माल वस्तुको आयात प्रत्येक वर्ष बढ्दै गएको बताए । निर्यातभन्दा आयात बढी हुँदा नेपालमा व्यापार घाटा बढेको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा विराटनगर नाकाबाट निर्यातभन्दा १ खर्ब ३५ अर्ब ५५ करोड १३ लाख ३ हजार रुपैयाँ बढीको मालसामान आयात भएको थियो । भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ३२ अर्ब ६८ करोड २५ लाख ४ हजार रुपैयाँको सामान आयात हुँदा नेपालबाट २८ अर्ब ५१ करोड ३१ लख २० हजार रुपैयाँको सामान निर्यात भएको थियो ।
भटमास तेलको कच्चा वस्तु आयात धेरै
भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा विराटनगर भन्सारबाट १२ अर्ब ७३ करोड ३२ लाख ९ हजार रुपैयाँको भटमास तेलको कच्चा वस्तु आयात भएको छ । चालू आर्थिक वर्षमा ८ अर्ब १५ करोड ३२ लाख ६४ हजार रुपैयाँ बढीको भटमासको कच्चा वस्तु नेपाल भित्रियको छ ।
गत आर्थिक वर्षमा ४ अर्ब ५७ करोड ७० लाख ६५ हजार रुपैयाँ बराबरको भटमासको तेल कच्चा वस्तुको आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष १७८.१३ प्रतिशत बढीको कच्चा वस्तु आयात भएको देखिन्छ ।
त्यसैगरी ९ अर्ब ३२ करोड ८० लाख २ हजार रुपैयाँको एमएस विलेट आयात भएको छ । विलेट पनि गत आर्थिक वर्षभन्दा ९८ करोड ६१ लाख २५ हजार रुपैयाँ बढीको आयात भएको छ । गत आर्थिक वर्षमा ८ अर्ब ३३ करोड ४६ लाख ७७ हजार रुपैयाँ बराबरको आयात भएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा ११.८३ प्रतिशत बढी आयात भएको देखिन्छ ।
त्यस्तै पोलीथिन दाना ८ अर्ब ५३ करोड २७ लाख ६ हजार रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षमा ६ अर्ब २० करोड ५७ लाख ३ हजार रुपैयाँ बराबरको पोलीथिन दाना आयात भएको थियो ।
६ अर्ब ३१ करोड ५५ लाख ८६ हजार रुपैयाँको स्टिल वायर रड इन क्वायल र ८ एमयससम्म आयात भएको छ । यसको आयात पनि गत वर्षको भन्दा यो वर्ष बढेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ७० करोड ९१ लाख ९० हजारको आयात भएको थियो । चालू आर्थिक वर्षमा ७०ं.२७ प्रतिशतले बढेको हो ।
त्यसैगरी चालू आर्थिक वर्षमा तयारी कपडाको आयात पनि बढेको छ । ५ अर्ब ९७ करोड ४२ लाख ३ हजार रुपैयाँ बराबरको तयारी कपडा आयात भएको भन्सार कार्यालय विराटनगरले जनाएको छ । गत आर्थिक वर्षमा १ अर्ब २८ करोड ४८ लाख ५ हजार रुपैयाँ बराबरको तयारी कपडा आयात भएको थियो ।
चालू आर्थिक वर्षमा ४ अर्ब ६८ करोड ५६ लाख १९ हजार रुपैयाँ बढीको तयारी कपडा आयात भएको छ । तुलनात्मक रूपमा गत वर्षको भन्दा ३६४.७० प्रतिशतले बढी हो ।
भन्सार कार्यालयका अनुसार ५ अर्ब ६० करोड ४७ लाख ७ हजार रुपैयाँ बराबरको सूर्यमुखीको कच्चा तेल आयात भएको छ भने ४ अर्ब ८२ करोड २६ लाख ९६ हजार रुपैयाँ बराबरको खाद्यान्न मकै आयात भएको छ ।
४ अर्ब ५२ करोड ८२ लाख १८ हजारको एलपी ग्यास आयात भएको छ भने ४ अर्ब ३६ करोड ६१ लाख १६ हजार रुपैयाँ बराबरको सीआरसिट आयात भएको छ । अन्य औद्योगिक मेसिनरी सामान भने ४ अर्ब ११ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
भन्सार कार्यालयले दिएको जानकारीअनुसार विराटनगर भन्सारबाट चालू आर्थिक वर्षमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । १२ अर्ब ९४ करोड ६० हजार रुपैयाँ बराबरको प्रशोधित तेल निर्यात भएको छ ।
गत आर्थिक वर्षमा १ अर्ब ३२ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको थियो । चालू आर्थिक वर्षमा भटमासको प्रशोधित तेलको निर्यात बढेको देखिन्छ । १ अर्व ७६ करोड ६८ लाख ३९ हजार रुपैयाँ बढीको तेल चालू आर्थिक वर्षमा निर्यात भएको छ ।
४ अर्ब ६८ करोड ८८ लाख ७४ हजार रुपैयाँको सेन्थेटिक यार्न निर्यात भएको कार्यालय जनाएको छ । गत आर्थिक वर्षमा ७० करोड ६५ लाख ५४ हजार रुपैयाँबराबरको सेन्थेटिक यार्न निर्यात भएको कार्यालयले जनाएको छ । यसको निर्यात गत वर्षको भन्दा धेरै नै बढेको छ ।
त्यसैगरी ३ अर्ब ७९ करोड ८० लाख ७१ हजार रुपैयाँको जुटका बुनियाँका कपडा निर्यात भएको छ । गत आर्थिक बर्षमा ६३ करोड ९७ लाख १४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
२ अर्ब २४ करोड १५ लाख रुपैयाँ बराबरको बोरा झोला जुटको निर्यात भएको छ । गत वर्ष २७ करोड ३० लाख १४ हजारको मात्र निर्यात भएको भन्सार कार्यालयले जानकारी दिएको छ । गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षमा निर्यात पनि बढेको देखिन्छ ।
त्यस्तै १ अर्ब ९६ करोड ८३ लाख २० हजार रुपैयाँको अन्य कपडा (ऊनी, सुती, टेलिकटन बाहेकका), १ अर्ब १६ करोड ४१ लाख ४ हजार रुपैयाँको चाउचाउ, नुडल्स, पास्ता आदि, ८१ करोड ११ लाख ६२ हजार रुपैयाँको पिना अन्य, ४३ करोड १९ लाख ५० हजार रुपैयाँको तामाको सिट, चादर र स्टिप, ४३ करोड ३७ लाख ३ हजार रुपैयाँको सनपाटको धागो र ३९ करोड ४३ लाख ९६ हजार सूर्यमुखीको प्रशोधित तेल निर्यात निकासी भएको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत यादवका अनुसार माथि उल्लेखित बाहेक पेसिनका पार्टपुर्जा, धान चामल, गहुँ, फलफूल, आलु प्याज, चुत्ता–चप्पल पनि बढी मात्रामा आयात हुने गरेको छ ।
विराटनगर नाका भएर नेपालका लागि ५२ प्रतिशत खाद्यान्न, ६९ प्रतिशत पेट्रोलिय पदार्थ, ४८ प्रतिशत नयाँ सवारी साधन र ३८ प्रतिशत औषधि आयात हुने गरेको पनि अधिकृत यादवले जानकारी दिए । पूर्वकै सबैभन्दा ठूलो सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्र पनि यही रहेको छ । जहाँ साना ठूला गरी करिब ७ सयवटा उद्योग छन् ।