लमजुङ । सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट २ करोड ३५ लाख ६ हजार ७७ रूपैयाँ राजश्व सङ्कलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व सङ्कलन भएको हो ।
साे राजश्वमध्ये सवारी साधन करबाट २ करोड १ लाख ८९ हजार ७ सय २२ राजश्व सङ्कलन भएको यातायात शाखाका कम्प्युटर अपरेटर शशि न्यौपानेले बताए। त्यस्तै उनका अनुसार रुट परमिट नवीकरणबाट ३ लाख ३८ हजार ६ सय राजश्व सङ्कलन भएको छ भने सवारी जाँचपास, नवीकरण, बिलबुकबाट ९ लाख ८२ हजार ३ सय ५५, सवारी आयकारबाट १५ लाख ११ हजार ४ सय रूपैयाँ र अन्य प्रशासनिक सेवाबाट ४ लाख ८४ हजार रूपैयाँ राजश्व सङ्कलन भएको छ ।
त्यस्तै शाखाबाट जम्मा २ हजार ३ सय ८० सवारी नवीकरण गरिएको छ । त्यस्तै १ सय १४ वटा रुट परमिट नवीकरण गरिएको छ । १ सय १६ वटा सवारी जाँचपास भएको छ । मोटरसाइकल १ हजार ८ सय ९१, ट्र्याक्टर १ सय ३३, निजी पिकअप ४९, मिनी ट्रक १६, भाडा पिकअप ७९, निजी जिप ३१, भाडाबस मिनीबस ५०, निजी कार ५७, भाडा जिप १४, भाडा टिपर १४ नवीकरण भएको उक्त कार्यालयले जनाएको छ ।
त्यस्तै एक्साभेटर पाँच, निजी बस १०, भाडा ट्याक्सी १५, सरकारी मोटरसाइकल स्कुटर सात, सरकारी कार जिप भ्यान तीन, निजी ट्रक एक, एम्बुलेन्स नौ, अन्य सवारी तीनवटा सवारी नवीकरण गरिएको उक्त शाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लावासीलाई यस शाखा स्थापना हुनुअघि पोखरा जानुपर्ने बाध्यता रहँदै आएको थियो । जिल्लामै यी सुविधा भएसँगै यहाँका सेवाग्राहीले सेवा लिन थालेपछि करसमेत बढ्न थालेको शाखाले जनाएको छ । रासस