विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्षको जेठसम्म ३६ अर्ब ९५ करोड ६७ लाख रुपैया राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा ४१ अर्ब ८९ करोड ५८ लाख रुपैया राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले जेठसम्म ८८.५५ प्रतिशत राजस्व संकलन भएको सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । असार मसान्तसम्म लक्ष्यको नजिक पुग्ने कार्यालयले जनाएको छ ।
गत बर्ष लक्ष्य भन्दा निकै कम राजस्व संकलन भएकाले यो बर्ष कम लक्ष्य राखेको थियो । साउन, भदौ, मंसिर, पुस र चैत्रमा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको देखिन्छ ।
साउनमा २ अर्ब ५ करोड ८९ लाख रुपैया लक्ष्य राखेकोमा २ अर्ब २४ करोड ५९ लाख अर्थात १०९ प्रतिशत राजस्व संकलन भएको छ ।
त्यस्तै भदौ महिनामा २ अर्ब २६ करोड ५० लाख रुपैया लक्ष्य राखेकोमा २ अर्ब ५६ करोड ९७ लाख ७१ हजार रुपैया राजस्व संकलन भएको सूचना अधिकारी यादवले जानकारी दिए ।
त्यसैगरी मंसिर महिनामा ३ अर्ब ९ करोड ५७ लाख ५१ हजार लक्ष्य लिएकोमा ३ अर्ब १३ करोड ४२ लाख र पुसमा ३ अर्ब २६ करोड २८ लाख लक्ष्य लिईएकोमा ३ अर्ब ७० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले चैत्र महिनामा ४ अर्ब २५ करोड १९ लाख रुपैया लक्ष्य रहेकोमा ४ अर्ब ३२ करोड ९६ लाख ६२ हजार संकलन भएको छ ।
सबैभन्दा बढी जेठमा राजश्व संकलन भएको छ । ५ अर्ब ४९ करोड ९० लाख रुपैयाँ लक्ष्य राखेको कार्यालयले ३ अर्ब २७ करोड ९१ लाख रुपैया मात्र संकलन गरेको छ ।
भन्सार कार्यालयले गत आर्थिक बर्षमा ४५ अर्ब ५० करोड ८८ लाख लक्ष्य राखेकोमा २६ अर्ब ६३ करोड २९ लाख रुपैया मात्र संकलन भएको थियो । गत बर्ष ५८ प्रतिशत मात्र संकलन भएको राजस्व यो बर्ष केही बढेको छ ।