काठमाडौं । देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला अर्थ मन्त्रालयको नेतृत्व जनार्दन शर्माको काँधमा आएको छ । कोरोना महामारीबाट तहसनहस भएको अर्थतन्त्रलाई माथि उकास्न, सेयर बजारका लगानीकर्ताको मनोवल उच्च बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिन शर्माका सामू ठूलै चुनौती छ ।
यद्यपि, शर्माले कुशलतापूर्वक ऊर्जा मन्त्रालयको जिम्मेवारी निवार्ह गरिसकेका अनुभवी मन्त्रीमा पर्छन् । शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीका रुपमा नियुक्त भएका हुन् ।
यसअघि विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा ऊर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका छन् । तर, ऊर्जा र गृहको तुलनामा अर्थ अत्यन्तै प्राविधिक मन्त्रालय हो ।
अर्थको जिम्मेवारी शर्माको काँधका आउने बित्तिकै निजी क्षेत्रले आफ्नो ‘कन्फिडेन्स लुज’ गर्ने वातावरण बनाउन दिनुहुँदैन । प्रधानमन्त्री शेरबहादुर देउवा भएपछि उनैको पार्टीले अर्थ मन्त्रालय लिन्छ भन्ने सबैको आँकलन थियो । तर, माओवादी केन्द्रको भागमा अर्थ परेको छ ।
कांग्रेसको नेतृत्वमा सरकार बनेकाले सेयर बजारका लगानीकर्ता मात्रै होइन्, निजी क्षेत्र पनि उत्साहित बनेको थियो । कारण– अर्थ मन्त्रालय कांग्रेस लिन्छ र आर्थिक गतिविधिसँगै सेयर बजार पनि सकारात्मक दिशातर्फ अघि बढ्छ ।
तर, माओवादी केन्द्रका नेता शर्माको काँधमा अर्थ मन्त्रालय पुगेको छ । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र धेरै उत्साहित बनेको थियो ।
निजी क्षेत्रले दिएका सुझावलाई तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिकतम समेट्ने प्रयास गरेका थिए । त्यसबाट पनि निजी क्षेत्र पौडेलसामू नतमस्तक थिए । अर्थतन्त्रले छिटै गति लिन्छ भन्ने सोचबाट अघि बढेका थिए ।
बजेटले आर्थिक गतिविधि बढाउने गरी निजी क्षेत्रको मागलाई सम्बोधन गरेको थिए । यो सरकारले त्यसलाई कसरी कार्यान्वयन गर्छ, त्यो हेर्न बाँकी छ ।
यही बजेटलाई निरन्तरता दिन्छ कि नयाँ बजेट ल्याउँछ । त्यो पनि हेर्न बाँकी छ । विष्णु पौडेल अर्थमन्त्री भएर आएपछि निजी क्षेत्रमा जुन खालको उत्साह छ, त्यसलाई कायम राख्नुपर्ने शर्मासामू चुनौती छ ।
ऊर्जामन्त्रीका रुपमा उनको कार्यकाल स्मरणयोग्य छ । लोडसेडिङको चर्को मारमा परेका जनतालाई मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन उनले प्रभावकारी कदम चालेका थिए । उनकै कार्यकालमा एनईए इन्जिनियरिङ कम्पनी पनि स्थापना भएको हो ।
देशमै इन्जिनियर उत्पादन गर्ने र देशभित्र बन्ने ठुल्ठूला आयोजनामा स्वदेशी इन्जिनियर नै खटाउने उद्देश्यले शर्माले स्थापना गरेका हुन् । यस अर्थमा उनले आफ्नो कार्यकाल सफल भएको पाइन्छ ।
अहिले उनी अर्थमन्त्री भएका छन् । उनका सामू अर्थतन्त्रलाई माथि उकास्ने, पुँजीगत खर्च बढाउनुपर्ने, निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने, यस अघिको सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गर्नुपर्ने, विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने, सेयर बजारका लगानीकर्ताको मनोवल उच्च बनाउनुपर्ने चुनौति छ ।
त्यसैगरी, आगामी आर्थिक वर्षका लागि केपी ओली सरकारले असाध्यै लोकप्रिय बजेट ल्याएको छ । त्यसलाई हटाउँदा आगामी दिनमा पर्ने असरका बारेमा पनि विश्लेषण गर्नुपर्ने देखिन्छ । त्यसैगरी, गएको सरकारले करका दरमा पनि व्यापक हेरफेर गरेको छ । त्यसलाई यो सरकारले कसरी लिन्छ, त्यो पनि हेर्नुपर्छ ।
मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मिएका शर्माको विशेष रुचिको क्षेत्र साहित्य र कृषि हो । उनी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट रुकुमबाट प्रत्यक्ष निर्वाचित सांसद भएका हुन् ।
विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुपमा निर्वाचित शर्माले राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका थिए ।