काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा छलफल गरेर अघि बढ्ने बताएका छन । अर्थमन्त्रीको पदभार ग्रहणपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री शर्माले बजेटका विषयमा छलफल गरेर अघि बढ्ने स्पष्ट पारेका हुन् ।
‘नयाँ परिवेशमा अदालतले केही बोलेको छ । सरकारको नयाँ आवश्यकता र भिजनको कुरा छ’ उनले भने ‘छलफल गरेर निर्णयमा पुग्ने र्छाैं।’ वर्तमान सरकारको काँधमा धेरै ठूलो जिम्मेबारी रहेकाले बजेटमा नयाँ कार्यक्रम आवश्यक पर्ने उनको भनाई छ ।
उनले भने ‘म अर्थशास्त्रको विज्ञ हैन, विश्वविद्यालयमा अध्ययन गरेर आएको हैन । तर अर्थतन्त्रका समस्याका बारेमा जानकारी छ । समस्याको पहिचान हुनुपर्छ । भ्रष्टाचारले गहिरो जरा गाडेको छ । ढिला सुस्तीका समस्या छन यसमा छिटो प्रशासनिक क्षमता आवश्यक भएको उनले औल्याए ।
पदवाहालीपछि उनले कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
अर्थमन्त्री शर्माले कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्ने बर्ताए ।
सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा राखेको छ । गरीब, पछाडि परेका, सीमान्तकृत नागरिकको समस्या समाधान हुने गरी आर्थिक नीति बनाउनुपर्ने उनले बताएका थिए ।