काठमाडौं । बुधबार अस्थिर जस्तै देखिएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार बन्द हुँदा सकारात्मक देखिएको छ । खासगरी, माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री भएपछि धेरैले सेयर बजार के हो भन्ने आंशका व्यक्ति गरेका थिए ।
सुरुआती कारोबारले पनि माओवादी मन्त्रीलाई अविश्वास गर्न खोजेको संकेत देखाएको थियो । तर, विगतमा उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका शर्मालाई सेयर बजारले दायिना राख्ने संकेत गरेको हो ।
त्यसैको प्रभाव जलविद्युत् समूहको सेयर सूचकमा उच्च वृद्धि देखिएको छ । जलविद्युत् समूहमा ७५ अंकको बढोत्तरी मात्रै आएको छैन, उच्च मूल्य वृद्धि भएका १० कम्पनीमध्ये ७ वटा जलविद्युत समूहका छन् । बुधबार कारोबार सुरु हुने बित्तिकै २८८१ अंकमा पुगेको बजार आधा घण्टा नहुँदै २८५८ अंकमा झरेर बजार ओरालो लाग्ने संकेत गरे पनि बजार लगत्तै उक्लियो र २८८३ सम्म पुग्यो ।
तर, त्यसपछि सुस्त-सुस्त घट्दै घरिघरी बढ्ने जस्तो गरेको सेयर सूचक मंगलबारको तुलनामा १ अंकले बढेर २८७२ बिन्दूमा पुगेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अन्तरिम आदेश दिएपछि ४५ अंकले बजार घटेको थियो । तर, सोमबार भने बजार केही सम्हालिँदै १६ अंकले बढेको थियो । तर, साँझ अर्थमन्त्रीमा शर्माको नाम आएसँगै लगानीकर्ता एक किसिमले आतङ्कित जस्तै बनेका थिए ।
बुधबारको बजारले भने सकारात्मक सन्देश दिएको छ । यसअघि निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल हुँदा लगातार तीन दिन बजार सूचक सामान्य घटेको थियो । त्यसपछि बढ्न थालेको बजार जेठ ३१ गते ३०२५ बिन्दूसम्म पुगेर नयाँ रेकर्ड बनाएको थियो । त्यसअघिको २०७३ साउन १२ गते पनि त्यसबेला सम्मकै उच्च अंक १८८१.४५ बिन्दूमा बजार पुगेको रकर्ड पनि पौडेलकै नाममा छ ।
विगतमा युवराज खतिवडा अर्थमन्त्री हुँदा भने बजार कहिल्यै सकारात्मक हुन सकेन । उनकै पालामा बजार सूचक १८८१ बाट घटेर ११०० बिन्दूसम्म झरेको थियो । त्यसपछि भने केही सुधारिन खोजेको बजार पौडेल अर्थमन्त्री भएपछि ९ महिनामा नेप्से सूचक करिब सतप्रतिशतले बढेको थियो ।
माओवादी प्रतिसेयर बजार त्यति सकारात्मक छैन । २०६५ मा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवा घरको संज्ञा दिएपछि त्यतिबेलाको उच्च विन्दू ११७५ बाट घटेर २९२ सम्म झरेको थियो । त्यतिबेलादेखि नै माओवादी प्रति सेयर बजार संसकित छ । यद्यपि, बुधबारको सूचकले त्यसलाई चिरेको छ । त्यसो हुनुमा माओवादी अर्थमन्त्री नभएर प्रधानमन्त्री देउवा नेपाली कांग्रेसका नेतासमेत भएकाले पनि हो । नेपाली कांग्रेस जहिले पनि सेयर बजार प्रति उदार रहेकाले माओवादी मन्त्री हुँदैमा ठूलो नीतिगत फेरवदर हुँदै भन्नेमा लगानीकर्ता विश्वस्त भएको बुझ्न सकिन्छ ।
तर, बुधबार कारोबार रकममा पनि मंगलबारको भन्दा बढेको त छ । तर, सोमबारको भन्दा करिब आधा कम छ । मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ५ अर्ब ६५ करोड रुपैयाँ बरारबको ४ करोड ४७ कित्ता सेयर किनबेच भएको छ । सामूहिक लगानीकोषको सेयर कित्ता ठूलो मात्रामा कारोबार भएपछि कारोबार भोल्यूम भने बढेको देखिन्छ ।