काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्ने भएको छ । देशको वर्तमान आर्थिक अवस्थाको चित्रणसहित केही दिनभित्र श्वेतपत्र जारी गर्ने तयारी भएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
नयाँ सरकार बन्ने वित्तिकै सबैभन्दा पनि अर्थतन्त्रका बारेमा श्वतेपत्र जारी गर्ने कार्य हुन्छ । यसअघि पनि डा. युवराज खतिवडा अर्थमन्त्री भएर आएपछि ८९ पृष्ठ लामो श्वेतपत्र जारी गरेका थिए ।
त्यो बेलाको भन्दा अहिलको अर्थतन्त्र दयनीय अवस्थामा पुगेपछि सरकारले श्वेतपत्रमार्फत वास्तविकता बाहिर ल्याउन लागेको अर्थमन्त्री शर्माले जानकारी दिए । उनले केही दिन भित्रै श्वेतपत्र ल्याउने र अहिले तयारीको कार्य चलिरहेको उनको भनाइ छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भने । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए।
अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने उनले बताए । मन्त्री शर्माले भने, “सबै क्षेत्रका आआफ्ना माग छन्, समावेश गर्नुपर्ने कुरा पनि आएका छन्, सबै कुरा छलफलकै क्रममा छ, त्यसैको आधारमा मुलुकको आर्थिक मानचित्र तयार पारिनेछ ।”
उनले पुँजी बजारलगायतका समस्या रहेको जानकारी गराउँदै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर योजना निर्माण गरिनसमेत आश्वासन दिए । उनका अनुसार पुँजीबजारले १४ अर्बको राजस्व योगदान गरेको छ ।
संसदमा छलफल पछि मात्रै नयाँ बजेटबारे धारणा बनाइने
संसद् सुचारु भएपछि मात्रै नयाँ बजेट ल्याउने वा यही बजेटलाई निरन्तरता दिने भन्ने टुंगो लाग्ने शर्माले बताए । शर्माले अहिले नै नयाँ बजेटको बारेमा कुनै सोच नबनाएको तर संसद् चलेपछि मात्रै नयाँ बजेट वा यही बजेटलाई कार्यान्वयन गर्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ ।