बागलुङ । गत आर्थिक वर्षमा बागलुङमा १२ हजार १ सय सवारीसाधान कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट ६७ लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधानबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बद्रीनाथ शर्माले जानकारी दिए । “गाउँदेखि सहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्न भइरहेको छ”, उनले भने, “यसलाई थप व्यवस्थित बनाउन लागिपरेको छु ।”
कारवाहीमा परेकामध्ये सबैभन्दा बढी कार, जीपका चालक छन् । सो अवधिमा कारवाहीमा परेका ५ हजार १ सय ४१ कार जीपबाट २७ लाख ६३ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार ८६८ मोटरसाइकलबाट २३ लाख ९ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यस्तै गत आर्थिक वर्षमा कारवाहीमा परेका १ हजार ३ सय ६९ ट्याक्टरबाट ७ लाख ३६ हजार ५ सय, १ हजार २ सय ६० ट्रकबाट ७ लाख १३ हजार ५ सय, ४ सय ५३ बसबाट २ लाख ४४ हजार गरी ६७ लाख ७३ हजार ५ सय रुपैयाँ र अन्य ९ वटा साधानबाट छ हजार ५ सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शर्माले बताए ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी कारवाहीबाट गत आर्थिक वर्षको साउनमा २ लाख ८३ हजार रुपैयाँ , भदौमा ३ लाख २२ हजार ५ सय रुपैयाँ, असोजमा ६ लाख ३ हजार ५ सय रुपैयाँ, कात्तिकमा ६ लाख १ हजार ५ सय रुपैयाँ,, मंसिरमा ६ लाख ६७ हजार ५ सय रुपैयाँ, पुसमा ७ लाख २ हजार ५ सय रुपैयाँ,, माघमा ७ लाख २३ हजार ५ सय रुपैयाँ, फागुनमा ७ लाख ४८ हजार ५ सय रुपैयाँ, चैतमा ७ लाख ५१ हजार रुपैयाँ, वैशाखमा ५ लाख ५४ हजार रुपैयाँ, जेठमा ३ लाख १० हजार ५ सय रुपैयाँ र असारमा ५ लाख ५ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएका छन् ।
ट्राफिक प्रहरीले सबैभन्दा बढी राजश्व चैत महिनामा सङ्कलन गरेको छ । चैत महिनामा रु सात लाख ५१ हजार सङ्कलन गरेको छ भने सबैभन्दा कम साउन महिनामा गरेको छ । साउन महिनामा दुई लाख ८३ हजार मात्रै राजश्व सङ्कलन भएको छ । रासस