काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारमै महँगो रहेको ब्रोकर कमिसनप्रति चासो लिएका छन् । लगानीकर्ताले बारम्बार ब्रोकर कमिसन अत्यधिक भएको र यसलाई घटाउनुपर्ने आवाज उठाइरहेका बेला अर्थमन्त्री शर्माले पनि यसमा चासो दिएका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार ब्रोकर कमिसन अत्यधिक भएको भन्ने गुनासो अर्थमन्त्री शर्मासम्म पनि पुगिसकेको छ । यस अघिका अर्थमन्त्री विष्णुप्रसाद पौडेलका पालामा नगन्य मात्रामा ब्रोकर कमिसन घटाइएको थियो । अहिले कायम भएको ब्रोकर कमिसन पनि अत्यधिक भएको र यसलाई ५० प्रतिशत घटाउनुपर्ने लगानीकर्ताका माग छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री शर्मा ब्रोकर कमिसन घटाउनुपर्ने पक्षमा पुगिसकेका छन् । उनले केही दिनमै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई बोलाएर छलफल गर्ने तयारी गरेका छन् ।
यद्यपि, बोर्डले पनि कमिसन घटाउने विषयमा पुन छलफल थालेको छ । तर, अहिलेसम्म छलफलले अन्तिम रुप पाइरहेको छैन् । बोर्डका अध्यक्ष ढुङ्गाना ब्रोकर कमिसन नघटाउने मनस्थितिमा छन् । लगानीकर्ताको दबाब र बोर्ड भित्रैका कर्मचारी कमिसन घटाउनुपर्ने पक्षमा उभिएपछि ढुंगानालाई अप्ठयारो परेको बुझिएको छ ।
नेपाल धितोपत्र बोर्डले पुस १२ गते आइतबार देखि लागू हुने गरी कमिसन घटाएको हो। बोर्डका अनुसार पछिल्लो समय ८५ प्रतिशत बढी सेयर कारोबार अनलाइनबाट हुँदै आएको छ।
यसअघिसम्म ब्रोकर कमिसन ०.४ देखि ०.६ प्रतिशतसम्म लाग्दै आएको थियो। अब भने ०.२७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने भएको छ। नयाँ व्यवस्थाअनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ। त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ छ।
५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
बोर्डले ३३ प्रतिशत कमिसन घटाएको हो। घटाइएको कमिसनले पुँजी बजारको विकास र विस्तारमा टेवा पुग्ने बोर्डले जनाएको छ। त्यस्तै नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्र खरिद बिक्री गर्दा ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्म ०.०५ प्रतिशत र ५० लाखदेखि माथिको कारोबारमा ०.०२ प्रतिशत शुल्क लाग्छ।