लहान । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । पटक-पटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८ मा लक्ष्यभन्दा २ करोड ८९ लाख ९२ हजार रूपैयाँ बढी राजस्व संकलन गरेको हो ।
५६ करोड ५६ लाख २० हजार रूपैयाँ संकलन को लक्ष्य रहेकामा ९ करोड ४६ लाख १२ हजार रूपैयाँ राजस्व संकलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अरु महिनामा बढी राजस्व संकलन भएको छ ।
सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्य भइरहेकाले सवारी साधन आवतजावत सहज नहुँदासमेत लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख साहले बताए । कार्यालयले धान, गहुँ, फलफूल, तरकारी र टायल्सबाट बढी राजस्व उठाएको प्रमुख साहले जानकारी दिए ।
यस्तै यातायात व्यवस्था कार्यालय लहानले आव २०७७/०७८ मा ४३ करोड ७८ लाख १ सय ५८ रूपैयाँ राजस्व संकलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण, जाँचपास, बाटो इजाजतपत्र, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायत शीर्षकबाट सो राजस्व संकलन भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिए।
संकलन भएको राजस्वमध्ये १ करोड ७० लाख ३३ हजार ५ सय ७४ रूपैयाँ सङ्घीय सरकारको खातामा र ४२ करोड ८ लाख ३९ हजार ५ सय ८४ रूपैयाँ प्रदेश सरकारको खातामा जम्मा गरिएको कार्यालय प्रमुख भट्टराईले बताए । रासस