कास्की । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेन ।
राजस्व संकलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजस्व उठाएको हो ।
गत आवमा ४ अर्ब ८२ करोड २७ लाख ८५ हजार रूपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकामा ४ अर्ब ६७ करोड ८५ लाख ९५ हजार रूपैयाँ संकलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका कर अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिए। उनका अनुसार ९७ दशमलव एक प्रतिशत राजश्व जम्मा भएको छ ।
सो कार्यालय आव २०७६/७७ को तुलनामा भने राजस्व संकलनको लक्ष्य नजीक पुगेको छ । सो आवमा ५ अर्ब ६१ करोड ६७ लाख रूपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ४ अर्ब ३ करोड ११ लाख मात्र संकलन भएको थियो ।
जुन लक्ष्यभन्दा २९ प्रतिशत न्यून थियो । कर अधिकृत लामिछानेले राजस्व संकलन सन्तोषजन रहेको बताए। उनले भने, “राजस्वको शतप्रतिशत लक्ष्य पूरा नभए पनि लक्ष्यको नजीक पुग्न सफल भयौँ । भुक्तानी टिडिएसहरु समयमै दाखिला नभएको र कोरोनाका कारण व्यापार–व्यवसायमा समेत असर पुगेकाले राजस्वमा केही कम भएको हो ।”
आव २०७७/७८ मा आयकरतर्फ २अर्ब ८५ करोड रूपैयाँ राजस्व संकलनन भएको छ । जुन लक्ष्यभन्दा बढी हो । २ अर्ब ७७ करोड ८६ लाख रूपैयाँ आयकरबाट राजस्व उठाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
यसैगरी मूल्य अभिवृद्धि करबाट १ अर्ब २९ करोड २० लाख रूपैयाँ, अन्तःशुल्कबाट १९ करोड ८५ लाख ६३ हजार रूपैयाँ, करको ब्याजबाट २८ करोड ५ लाख ८६ हजार रूपैयाँ, घरभाडा करबाट ५ करोड ५४ लाख ९६ हजार रूपैयाँ, स्वास्थ्य सेवा करबाट १२ लाख २२ हजार रूपैयाँ र शिक्षा करबाट ४ लाख ५३ हजार रूपैयाँ राजस्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।
३०हजार ८ सय करदाता थपिए
सो कार्यालयमा गत वर्षमा ३० हजार ८९२ करदाता थपिएका थिए । आव २०७६÷७७ को असार मसान्तसम्म १ लाख ३४ हजार ६ सय ७० करदाता भएकामा गत आवमा ३० हजार ८९२ करदाता बढेर १ लाख ६५ हजार ५ सय ६२ पुगेका हुन् ।
गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा १ लाख नौ हजार ३५२ र व्यावसायिक प्यानमा ५६ हजार १ सय ५८ करदाता दर्ता भएको राजस्व कार्यालयले जनाएको छ ।