काठमाडौं । मौद्रिक नीतिलाई देखाएर अनेकथरी अफवाह फैल्याएर सेयर बजार घटाउन केही समूह सक्रिय रुपमा लागेको छ । आफ्नो केन्द्रीय बैंकका अधिकारीसँग राम्रो सम्बन्ध रहेको र यसपालिको मौद्रिक नीति बजारमैत्री नआउने भन्दै हल्ला पिटाएर बजार घटाउन लागि परेको देखिन्छ ।
लगानीकर्ताको मनोविज्ञानलाई असर पार्ने, सस्तोमा सेयर फाल्न लगाउने गरेको देखिएको छ । साताको अन्तिम दिन पनि मौद्रिक नीतिका सम्बन्धमा अफ्वाह फैल्याएर बजार झार्न कोसिस गरेको देखियो ।
सुरुमा उत्साहित भएर सेयर किनेबेचमा उत्रिएका लगानीकर्तामा एकाएक मौद्रिक नीति बजारमैत्री नआउने हल्ला चलाएपछि उनीहरु आत्तिएर सेयर बेच्न लागेको देखिन्छ ।
हुन त अर्थमन्त्री जनार्दन शर्माले बजारलाई प्रभावित पार्ने गरी केन्द्रीय बैंकले कुनै नीति अङ्गिकार नगर्ने बताइसकेका छन् । तैपनि बजारले अर्थमन्त्रीको भनाइलाई विश्वास गरेर अघि बढ्न सकेको अवस्था छैन ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमा खासै परिवर्तन नगर्ने संकेत देखिएको छ । यसअघिका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कन्फिडेन्समा लिएर गभर्नर महाप्रसाद अधिकारीले बजारलाई केही प्रभावित पार्ने खालका नीति लिन खोजेका थिए । तर, केपी ओली नेतृत्वको सरकार हटिसकेको र कांग्रेसको नेतृत्वमा बनेको सरकार बजारमैत्री हुने लगानीकर्ताको विश्वास छ । तर, कांग्रेसले अर्थमन्त्री माओवादीको भागमा लगाए पछि लगानीकर्तामा केही शंका उत्पन्न भएको थियो । तर, त्यसलाई अर्थमन्त्री शर्माले आफ्नो अभिव्यक्तिबाट प्रष्टीकरण दिएपछि बजारले आफ्नो लय समातेको थियो ।
अहिले मौद्रिक नीति आउने समय नजिकिँदै गएसँगै फेरि त्यसैलाई देखाएर बजार झार्ने र सेयर उठाउन लागेको देखिन्छ । यद्यपि, असल ऋणमा शून्य दशमवल ५ प्रतिशतदेखि १ प्रतिशतसम्म असल कर्जामा खराब कर्जाबापत थप व्यवस्था ल्याउने हल्ला चलाएर बजार प्रभावित बनाउन खेजिएको छ । तर, यसबाट बजार प्रभावित हुनुपर्ने स्थिति होइन् । सेयर बजारलाई कुनै घाटा हुँदैन ।
यसअघि असल कर्जामा १ प्रतिशत प्रोभिजन राखिँदै आएको थियो । यो व्यवस्था असल कर्जामा थप प्रोभिजन राखे पनि त्यो चालू वर्षदेखि मात्रै लागू हुन्छ । यसले गत वर्षको नाफामा कुनै असर गर्दैन् । केन्द्रीय बैकले गतवर्ष देखिनै नगद लाभांशलाई निरुत्साहित गर्दै बोनस सेयरलाई प्राथमिकतामा राखेको छ । नेपालको सेयर बजार नगदमा भन्दा बोनसमै रमाइरहेको छ । पुँजी बढाउने कुरामा केन्द्रीय बैंक जहिले पनि सकारात्मक रहने भएकाले प्रभावित हुने गरी नीति आउने भन्ने स्थिति होइन् ।
अर्को, सेयरको धितोमा दिइने कर्जाको सीमा र गणाना विधिमा हो । त्यसमा १८० दिनको औसतलाई चलाउने स्थिति छैन । ७० प्रतिशतको सीमालाई सामान्य हेरफेर हुँदैमा लगानीकर्ता आत्तिनुपर्ने कुनै अवस्था छैन् । सीमामा ठूलो हेरफेर गर्ने राजनीतिक हिसावले पनि अहिले अनुकूल स्थिति छैन ।
साताको अन्तिम दिन बिहीबार १८.७६ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर ३००४.३३ बिन्दूमा पुगेको छ । यो २०७८ जेठ ३१ गतेको ३०२५ बिन्दूभन्दा २१ अंकले तल हो । यद्यपि, कारोबारको मध्यतिर ३०१८.१५ अंकसम्म सूचक पुगेको थियो । बिहीबार कारोबार सुरु हुने बित्तिकै ३००० विन्दूमा पुगेको नेप्से घट्दै आघा घण्टाभित्र २९८७.४५ अंकसम्म पुगेको थियो । त्यसपछि बढ्न थालेको बजार १ बज्दा नबज्दै बिहीबारको उच्च विन्दू कायम गरेको थियो । तर, त्यसपछि घट्ने र बढ्नेक्रम रहे पनि सुरुवाती घटाइभन्दा तल गएन र बजार सूचक बढेर बन्द भयो ।
बिहीबारको कारोबार प्रवृत्ति हेर्दा आगामी साता बजारले नयाँ उचाइ पच्छ्याउने सम्भावना छ । बिहीबार वाणिज्य बैंक समूह (बैकिङ)मा वृद्धि आएपछि समग्र नेप्सेलाई उचालेको हो । यद्यपि, जलविद्युत्, वित्त, निर्जीवन बिमा र म्युचुअल फन्ड समूह सूचक पनि बढेको छ । बिहीबारको कारोबारमा अधिकांश म्युअुचल फन्डले मूल्य बढाएका छन् ।
लक्ष्मी इक्वीटी फन्डले घोषणा गरेको लाभांश, लक्ष्मी उन्नति कोषको २५ प्रतिशत लाभांशको असर म्युचुअल फन्डमा परेको छ । तर, बिहीबार सीइडीइबी हाइड्रोपावर डेभलपमेन्ट, ङाधी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र लक्ष्मी उन्नति कोषको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै पोखरा फाइनान्स, लक्ष्मी इक्वीटी म्युचुअल फन्ड, ग्लोवल आइएमई समुन्त स्किमको सेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।
यसदिन कारोबार रकम केही घटेको छ । ५ करोड ५९ लाख ६४ हजार सेयर कित्ता खरिद बिक्री हुँदा ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार कारोबार रकममा कृषि विकास बैंक सबैभन्दा बढी ४६ करोड २१ छ भने पछ्याएको एनआईसी एसिया बैंकको ३६ करोड २ लाख रुपैयाँ छ ।