बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ८६ करोड २० लाख ६ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ५७ दशमलव २६ प्रतिशत बढी हो ।
सङ्कलित कुल राजस्वमध्ये आयकरतर्फ ४८ दशमलव ७७ प्रतिशत अर्थात् ७९ करोड ७ लाख ९१ रूपैयाँ , बहाल करतर्फ ११ दशमलव ४७ प्रतिशत अर्थात् २ करोड ५० लाख ७७ हजार रूपैयाँ, ब्याजकरतर्फ १७ दशमलव ३४ प्रतिशत अर्थात् ९ करोड ६७ लाख ५७ हजार रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ९८ दशमलव ४ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख ७८ हजार रूपैयाँ र अन्तःशुल्कतर्फ ९८ दशमलव ३५ प्रतिशतअर्थात् २ करोड ४० लाख ९३ हजार रूपैयाँ सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख जनकराज शर्माले जानकारी दिए।
उनका अनुसार २१ करोड ५४ लाख रूपैयाँ बक्यौता र राजस्व सम्भाव्यता क्षेत्रको अनुगमन तथा कर कानुनको प्रभावकारी कार्यान्वयन हुँदा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य सेवा करतर्फ रु एक लाख ८७ हजार र शिक्षा सेवा शुल्कतर्फ ८६ हजार रूपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।
यस्तै, गत आवमा आन्तरिक राजस्व कार्यालय बागलुङले तीन हजार ४४० व्यावसायिक करदाता, ४ हजार ९ सय १२ व्यक्तिगत करदाता र ४२ जना अग्रिम कर कट्टी गरी जम्मा ८ हजार ३ सय ९४ करदाता थपिएका छन् । तीमध्ये २०१ जना मूल्य अभिवृद्धि करमा र १५० जना अन्तःशुल्कमा थपिएको कार्यालय प्रमुख शर्माको भनाइ छ ।
आयकरतर्फ १५ करोड ९१ लाख ३८ हजार रूपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ५ करोड ६२ लाख ८९ हजार गरी कुल २१ करोड ५४ लाख १५ हजार रूपैयाँ बक्यौता असुली भएको छ । कार्यालयले गत आवमा कूल ६३ करदाताको छानबिन, परीक्षण र अनुसन्धान गरी आयकरतर्फ २ करोड ७६ लाख ५४ हजार तथा मूल्य अभिवृद्धि करतर्फ ५ करोड ३५ लाख ५ हजार रूपैयाँ थप कर निर्धारण गरिएको छ ।
यस्तै, १०२ करदाताको दु्रत छानबिनबाट ३५ लाख ७९ हजार रूपैयाँ कर असुल तथा १ सय ८२ करदाताको अनुगमनबाट ३ लाख ५ हजार जरिवाना सङ्कलन गरिएको छ ।
उक्त अवधिमा ७ हजार ३८ करतादाको विवरण अद्यावधिक तथा एक हजार १ सय ५३ करदाताको बायोमेट्रिक रजिष्ट्रेसन र १० वटा करदाता शिक्षा कार्यक्रम गरिएको कार्यालयले छ । रासस