विराटनगर । आर्थिक वर्ष २०७७/२०७८ मा प्रदेश १ मा ७ हजार ३ सय ८४ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाबाट ४० करोडभन्दा बढी राजस्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
प्रहरीले लागूऔषध नियन्त्रणतर्फ ३ हजार ५ सय १६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । १ हजार ७ सय ८९ किलो गाँजा बरामद भएको जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार मनोद्धिपक क्याप्सुल ५० हजार २ सय ५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३ सय ५८ एम्पुल बरामद गरेको छ । बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको समेत जजनाएको छ ।
प्रदेश १ मा २ हजार ४ सय २३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८ सय ६३ गाँजाका बोट नष्ट गरिएको प्रहरीको दाबी छ । एक वर्षको अबधिमा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कारबाही पूरा भएको छ ।
फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७ सय ४३ जना फरार प्रतिवादी पक्राउ गरी ७ सय ३५ वर्ष कैद भुक्तान भएको जनाइएको छ । जसबाट ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजस्व संकलन भएको प्रहरी उपरीक्षक राईको भनाइ छ ।
तीन तहको प्रमुखका बीचमा भएको कार्य सम्पादन सम्झौताका आधारमा भएको कामले सफलता प्राप्त हुँदा उपलब्धि देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा उपलब्धि हाँसिल भएको हो ।
समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रूपमा प्रहरी परिचाल भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रदेश प्रहरी कार्यालयको दाबी छ ।
भन्सारमा १९० जना पक्राउ
भन्सार चोरी निकासीतर्फ अबैध रूपमा समान चोरी निकासी गर्ने १९० जना मानिस पक्राउ गरेको प्रहरीले जनाएको छ । भन्सार चोरी निकासी तथा अबैध ओसार पसार गर्ने मध्येबाट सबैभन्दा धेरै राजस्व संकलन गरेको प्रहरीले जनाएको छ । जसबाट १९ करोड १ लाख ५८ हजार २ सय १२ रुपैयाँ राजस्व संकलन भएको राईले बताए ।
नदीजन्य पदार्थको अबैध रूपमा दोहन गर्ने १ सय ७० जना मानिस र ७ सय ८५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउबाट ६५ लाख ७५ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको दाबी प्रहरीको छ ।
अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ परेका छन् । अबैध काठको चोरी निकासीबाट ७० लाख ३८ हजार ७ सय ८७ रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रदेशमा ट्राफिक व्यवस्थापनतर्फ ट्राफिक नियम उल्लंघन गर्ने २ लाख ५४ हजार ३ सय ९४ वटा सवारी साधनलाई कारबाही परेका छन् । १५ करोड ९७ लाख ११ हजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा ४० करोड ७८ लाख ४२ हजार ३ सय १७ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।