काठमाडौं । कोभिड–१९ विरुद्धको लडाइँमा चीनले नेपाललाई निरन्तर साथ दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले कोरोना महामारीमा नेपाललाई साथ दिने बताएकी हुन् ।
राजदूत होउले अर्थमन्त्री शर्मालाई बधाई दिँदै नेपालमा जुनसुकै पार्टीको सरकार आए पनि चीन सरकारले हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउनेसमेत बताएकी छन् ।
भेटमा मन्त्री शर्माले नेपाल सरकारले कोरोनाको खोपलाई प्राथमिकतामा राखेको समयमा चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । साथै चीनबाट थप खोप खरिदका लागि प्रक्रिया अघि बढाएकाले उक्त कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास मन्त्री शर्माले गरेका छन् ।
यसअघि भूकम्पछिको पुनःनिर्माण कार्यमा पनि चीनले नेपाललाई सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको मन्त्री शर्माले जनाएका छन् ।
त्यस्तै उनले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने बताए । साथै चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थल लगायतका निर्माणाधीन परियोजनाहरु सम्पन्न गर्नका लागि नेपालले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताएका छन् ।
यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने बताइएको छ । यस्तै भूकम्पपछिको पुनःनिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुनःनिर्माणमा सहयोग गरेको र आधाजसो काम सम्पन्न भएको बताइएको छ ।
दरबार हाइस्कुलको पुनःनिर्माण कार्य सकिएको तथा वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै हुने बताइएको छ ।