विराटनगर । सेयर बजारको प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा नासा इन्भेस्टमेन्ट स्थापना भएको छ । सेयर बजारमा आवद्ध सुनसरीका ४ जना युवाहरुको सक्रियतामा कम्पनी स्थापना भएको हो ।
२५ लाख रुपैयाँ लगानीमा स्थापना भएको कम्पनीले अहिले ६ जनालाई रोजगारीसमेत दिएको छ । कम्पनीले सेयर खरिद बिक्री बाहेकका सेयरसम्बन्धी सबैकामहरु गर्ने अध्यक्ष अरबिन्द मेहताले जानकारी दिए ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाले आह्वान गरेको सेयर धितो लिलाम बिक्रीमा सहभागी भई सोसँग सम्वन्धित धितोपत्र खरिद बिक्री गर्ने गराउने काम गर्ने अध्यक्ष मेहताको भनाई छ ।
‘स्वदेश तथा विदेशमासमेत सञ्चालित साना, सझौला तथा ठूला विभिन्न व्यापार, व्यवसायमा लगानी गरी सो सम्बन्धी कामहरु गर्नेछौं’, उनले भने ‘कृषि, व्यापार, होटल, कृषि फर्महरु, विभिन्न खाले नर्सरीलगायत मानिसले गर्ने सबै खाले काम तथा व्यवसायमा हामी लगानी गर्नेछौ ।’
कम्पनीले मध्यस्थताको कार्य अन्तर्गत मुख्यतया संस्थाहरुले तयार गरेको तर मौद्रिक मध्यस्थताको बाहेकका जवानी राखेर कर्जा दिने, बैंकिङ प्रणालीभन्दा बाहिर गई लगानी गर्ने प्रस्तावना राखेर कृषि फार्म तथा सोसम्बन्धी कार्यमा लगानी गर्ने कामहरु गर्ने जनाइएको छ ।
‘हाम्रो कार्य क्षेत्र फराकिलो छ, हामी जुनसुकै व्यवसायमा लगानी गर्न सक्छौ, लगानीको स्रोत भने खोजीरहेका छौ’, उनले भने, ‘हामी स्थानीय तहहरुसग पनि सहकार्य गरेर अघि बढ्छौ ।
कम्पनीको मुख्य उदेश्य भनेको सेयर बजारको बारेमा चेतनामूलक काम गर्ने, सर्वसाधारणलाई सेयर बजारमा आउन प्रोत्साहन गर्ने, सेयर बारेमा नकारात्मक धारणा हटाउने नै रहेको कम्पनीका अध्यक्ष मेहताले बताए । यस्तो खालको कम्पनी प्रदेश १ को पहिलो भएको उनको दावी छ ।
स्थानीय तहसँग सहकार्य गर्न तयार
कम्पनी स्थापनाको अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश १ को राजधानीमा स्थापना भएको कम्पनीले सेयर बजारको क्षेत्रमा राम्रो काम गर्नेमा आफू विस्वस्त रहेको बताए । युवाहरुको काममा महानगरपालिका सँगसँगै रहेको बताउदै महानगरले गर्ने विभिन्न कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए ।
युवाहरु सक्रियतामा स्थापना भएको कम्पनीले धेरै युवाहरुलाई रोजगारीको अवसर सिर्जन गर्ने उनले बताए । महानगरपालिकाको युवा लक्षित कार्यक्रममा कम्पनीसँग सहकार्य गरेर काम गर्न सकिने उनले जानकारी दिए ।
लोकसेवा छाडेर सेयर बजारमा
सुनसरीका मेहता लोकसेवाको तयारी गरिरहेका थिए । उनको लिखितमा नाम निस्कियो । तर, अन्तर्वार्ता नदिई सेयर बजारमा लागे । उनी पहिलादेखि नै सेयर बजारमा छिरेको हुन् । तर, व्यवसायिक रुपमा भने हाेइन ।
अब मेहता लोकसेवा छाडेर पूर्ण रुपमा सेयर बजारमा लागेका छन् । ‘लोकसेवा छाडेर गल्ती गरे वा सही त्यो त भविष्यले बताउनेछ’, उनले भने । सिमित तलब सुविधाका कारण अहिले धेरै युवाहरु विकल्पको खोजिमासमेत रहेको अवस्थामा आफु पनि यसमा लागेको उनले बताए ।