काठमाडौं। चालू आर्थिक २०८२/ ८३ को ९ महिनामा घरजग्गा कारोबारबाट ३८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। आर्थिक कारोबारमा चहलपहल नदेखिए पनि चालू आवको साउनदेखि चैत मसान्तसम्म घरजग्गा कारोबारबाट उक्त राजस्व संकलन भएको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो अवधिमा घरजग्गा कारोबारबाट ३७ अर्ब २८ करोड ९८ लाख रुपैयाँ राजस्व उठेको छ। चालू आवमा प्रतिमहिना औसत ४ अर्ब १४ करोड ३३ लाखका दरले राजस्व असुली भएको हो।
विभागले चालू वर्षमा घरजग्गा मूल्यांकनमा सामान्य रुपमा वृद्धि गरेको थियो। घरजग्गा खरिद–बिक्रीमा थैली मूल्य वास्तविक राखेका कारण पनि राजस्व बढेको अनुमान गरिएको छ।
देशभर मालपोत कार्यालयले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन शीर्षकबाट अन्य कर उठाउँछन्। यसमध्ये रजिस्ट्रेसनपछि सबैभन्दा बढी राजस्व पुँजीगत लाभकरबाट असुल हुने गरेको देखिन्छ।
विभागका अनुसार चालू आवमा सबैभन्दा धेरै चैतमा राजस्व उठेको छ। यो चैतमा ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व उठेको हो। यसअघि केही महिनाको राजस्व ५ अर्ब माथि भए पनि ६ अर्ब पुग्न सकेको थिएन।
विभागका अनुसार यो वर्ष साउनमा भएको घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको थियो। यो रकम भदौमा सामान्य रुपमा घटेको थियो । भदौमा ३ अर्ब १४ करोड ७ लाखमात्र राजस्व असुली हुन पुगेको थियो।
यसैगरी असोजमा राजस्व असुलीमा झनै गिरावट आएको थियो। असोजमा २ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। कात्तिकको कारोबारबाट २ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ राजस्व उठेको थियो। मंसिरमा भने एक्कासि राजस्व बढेको देखिन्छ।
मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख राजस्व संकलन भएको थियो। यो मंसिरअघिका महिनाको तुलनामा सबैभन्दा धेरै हो। यस्तै, पुसमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा वृद्धि भएको देखिएको छ।
पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। यो अहिलेसम्मकै धेरै हो। माघमा पनि ५ अर्ब ९९ लाख रुपैयाँ घरजग्गा कारोबारबाट उठेको थियो। फागुनमा भने सामान्य रुपमा घटेर राजस्व ४ अर्ब १४ करोड ९५ लाख रुपैयाँ उठेको थियो।