काठमाडौं । सरकारले बढी भन्सार असुल्ने कर्मचारीलाई कारबाही नगरेसम्म अपारदर्शी ढंगबाट हुने कारोबार मौलाउने व्यापारीहरूले बताएका छन् । नियमविपरीत बढी भन्सार लिन खोज्ने कर्मचारीको ग्रेड रोक्ने तथा बढुवा गर्ने बेलामा असर पुर्याउने गरी कानुन बनाउने बित्तिकै भन्सारमा हुने विकृत्ति अन्त्य हुने उद्योगी÷व्यवसायी बताउँछन् ।
‘कर्मचारीले जति बढी भन्सार असुल्न सक्छन्, त्यति राम्रो मान्ने सरकारी नीति छ,’ एक आयातकर्ता व्यापारीले भने, ‘यस्तो नीतिलाई सच्याएर बढी भन्सार लिन खोज्नेलाई कारबाही गर्ने बित्तिकै अहिलेको सम्पूर्ण समस्या समाधान हुन्छ ।’
राज्यको ढुकुटी बढाउनलाई कर्मचारीले बढी भन्सार लिने होइनन् । व्यापारीसँग बार्गेनिङ नमिलेपछि बढी भन्सार लिने गरिन्छ । कानुनले तोकेको भन्सार उठाउनुपर्छ । तर, बढी उठाउनु भनेको अपराध हो भनेर सरकारले नभन्दासम्म भन्सारमा बस्ने कर्मचारीको मनोबल उच्च हुन्छ र अदृश्य कारोबार बढी हुने गरेको व्यापारीहरूको गुनासो छ ।
यदि भन्सारमा बस्ने कर्मचारीले चाहिनेभन्दा बढी वा नियमले तोकेभन्दा बढी भन्सार असुलउपर गर्छ भने त्यसलाई कारबाही गर्नुपर्ने वीरगञ्जका एक व्यापारी बताउँछन् ।
‘बढी पैसा लिने कर्मचारीलाई कानुनी दायरमा ल्याउने हो भने अन्य कर्मचारीले बढी पैसा असुल्ने आँट गर्दैनन् । त्यति हुने बित्तिकै त्यहाँ हुने अदृश्य कारोबार रोकिन्छ,’ ती व्यापारीले भने, ‘यदि आयातित सामानमा कुन भन्सार लगाउने भने दुविधा भए लेखेर केन्द्रमा पठाउने व्यवस्था बनाउनुपर्छ ।’
ती व्यापारीका अनुसार भन्सारका अधिकारीले म यो संकेत लगाउँदिन यो संकेत लगाउँछु भन्ने प्रचलन छ । त्यहीबाट कर्मचारी र आयातकर्ताबीच बार्गेनिङ सुरु हुन्छ । बार्गेनिङ मिलेपछि लाग्ने भन्सारमै सामान छुट्छ र कर्मचारीले पनि आफ्नो गोजी भर्छ । तर, उसले भनेअनुसार पैसा दिएन भने अनेकन दुःख दिने काम हुन्छ ।’
नेपालमा नियमविपरीत कर उठाउनेलाई कारबाही गरिँदैन्, उल्टै प्रोत्साहित गरिन्छ । राज्यले तोकेको भन्दा बढी लिनेलाई कारबाही गर्ने बित्तिकै घुस खाने प्रवृत्ति पनि अन्त्य हुन्छ र कर्मचारी पनि डराउँछन् । यो वस्तुमा किन बढी राजस्व लिइस् भनेर आजसम्म कुनै पनि सरकारले कर्मचारीलाई सोधेर कारबाही नगरेको उनीहरूको भनाइ छ ।
‘यदि कुनै कर्मचारीले बढी कर लिएको थाहा पाइए उसको ग्रेड रोक्का गर्ने वा बढुवामा असर पुग्ने बित्तिकै कुन कर्मचारीले घुस खान्छ वा बढी लिन्छ ?’ ती व्यापारीले प्रश्न गरे, ‘बढी राजस्व उठाउनेलाई राष्ट्रको नाममा उठाएको भनेर जुन परिभाषा गरिएको छ, त्यही नै गलत छ ।’
याे पनि पढ्नुहाेस्
चार लाख बराबरको सामान छुटाउन भन्सारका अधिकारीलाई डेढ लाख घुस