चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोतबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत वर्ष १० करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए ।
गतवर्ष १२ करोड ४ लाख ९६ हजार राजस्व सङ्कलन भएको हो । यो राजस्व असुली अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा १ प्रतिशत बढी हो । यस नगरपालिकाले सबैभन्दा धेरै घरजग्गा रजिष्टे«शनबाट राजस्व सङ्कलन गरेको छ । सो शीर्षकबाट ३ करोड ९७ लाख २९ हजार रुपैयाँ सङ्कलन भएको हो ।
त्यस्तै, अन्य संस्थागत आन्तरिक अनुदानबाट २ करोड ९१ लाख २६ हजार रुपैयाँ, घर बहाल करबाट २ करोड ३२ लाख रुपैयाँ, एकीकृत सम्पत्ती करबाट १ करोड ८० लाख ७१ हजार रुपैयाँ सङ्कलन गरेको नगर प्रमुख चौधरीले बताउनुभयो ।
यसैगरी अन्य दस्तुरबाट १ करोड १३ लाख ५७ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट ७६ लाख ५० हजार रुपैयाँ, नक्सपास दस्तुरबाट ३३ लाख ६२ हजार रुपैयाँ, भूमिकर÷मालपोतबाट १२ लाख ८२ हजार रुपैयाँ, पर्यटन शुल्कबाट १ लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
खैरहनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको थियो । जनप्रतिनिधि निर्वाचित भएको वर्ष १ करोड रुपैयाँ मात्र आन्तरिक स्रोतबाट राजस्व सङ्कलन भएको थियो । उद्योग, व्यवसायलाई करको दायरामा ल्याएपछि विस्तारै राजस्व सङ्कलनमा पनि वृिद्ध भएको नगर प्रमुख चौधरीले बताए।
उनले भने,“स्थानीय तहलाई आफ्नै आम्दानीबाट खर्च गर्न सक्ने बनाउनुपर्छ । अन्य स्रोतबाट कम राजस्व प्राप्त भएमा आफ्नै आम्दानीले खर्च गर्न सकिन्छ ।” राजस्व सङ्कलन वृिद्ध हुनुमा उद्योगी, व्यवसायी, नगरवासी, राजनीतिक दललगायत सबैको सहयोग रहेको उनको भनाइ छ । रासस