काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएसँगै नयाँ बजेट ल्याउने उद्घोष गरेको सरकार त्यसबाट पछि हट्ने सम्भावना बढेको छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले साथ नदिने सम्भावना बढेपछि यो सरकार नयाँ बजेटको झन्झट ब्यर्होन नचाहने मुडमा पुगेको अर्थ मन्त्रालय स्रोतले बतायो ।
‘सरकारले नयाँ बजेट ल्याए पनि संसद्बाट पास माधव नेपाल समूहको साथ अनिवार्य छ । तर, एमालेमा विकसित भइरहेको घटनाक्रमका कारण सरकार नयाँ बजेटको लफडातिर नलाग्ने सम्भावना छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘नयाँ सरकार गठन हुँदै गर्दा माधव नेपाल समूहले साथ दिने बताएको थियो । तर, अहिले नेपाल समूहको साथ देउवा सरकारले नपाउने भएपछि नयाँ बजेटबाट सरकार पछि हट्न लागेको हो ।’
नयाँ बजेट ल्याएपछि संसद्बाट पास हुनुपर्छ । नेपाल समूहले समर्थन नगरेको अवस्थामा संसद्बाट बजेट पास हुँदैन । त्यही भएर यो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई नै कार्यान्वयन गरेर जाने अवस्था सिर्जना भएको छ ।
बजेटमार्फत राहतको प्याकेज ल्याएर अर्थतन्त्रलाई उकास्ने देउवा सरकारको प्रयास विफल हुने देखिएको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटमा निजी क्षेत्रका ६० प्रतिशत माग सम्बोधन गरिएको थियो । त्यही भएर निजी क्षेत्रले यही बजेटलाई कार्यान्वयन गरेर जान सरकारलाई बारम्बार अनुरोध गरिरहेका थिए ।
यो बजेटले हरेक क्षेत्रको मागलाई सम्बोधन गरेकाले कार्यान्वयनतर्फ मात्रै ध्यान दिन निजी क्षेत्रले आग्रह गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले नेतृत्व सम्हालेपछि नयाँ बजेट ल्याउने विषयमा पूर्वअर्थमन्त्रीसँग छलफल समेत गरेका थिए । केही पूर्वअर्थमन्त्रीहरुले नयाँ बजेट ल्याएर सरकार अघि बढ्न सुझाव दिएका थिए भने केहीले यही बजेटलाई कार्यान्वयन गरेर जान भनेका थिए ।
तर, अहिले सरकारले संसद्बाट बजेट पास नहुने भएपछि नयाँ बजेट ल्याउन अर्थमन्त्री पनि अनिच्छुक देखिएको स्रोतको भनाइ छ । ‘बजेट फेल हुनु राम्रो होइन्,’ अर्थमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यही भएर के गर्ने भन्ने विषयमा टुंगो लागेको छैन ।’
अर्थमन्त्री शर्माले केन्द्रीय बैंकलाई मौद्रिक नीति ल्याउन बाटो खुला गरिसकेका छन् । त्यसबाट पनि अब नयाँ बजेट आउँदैन भन्ने सबैले अनुमान लगाइसकेका छन् । बजेटलाई सहयोग गर्नका लागि मौद्रिक आउँछ । नयाँ बजेटअघि नै मौद्रिक नीति आउने भएपछि बजेट आउँदैन भन्ने सहजै अनुमान लगाउन सकिने केहीको भनाइ छ ।