काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना नै ब्रोकर कमिसन घटाउन असहमत देखिएका छन् । नेपालको ब्रोकर कमिसन संसारमै सबैभन्दा महँगो हुँदा पनि त्यसलाई घटाउन बोर्डका अध्यक्ष तयार नभएको स्रोतको भनाइ छ ।
बोर्डका पदाधिकारी तथा कर्मचारीले बारम्बार ब्रोकर कमिसन अत्यधिक भएको र यसलाई समयसापेक्ष बनाउनुपर्ने पक्षमा उभिए पनि बोर्डका अध्यक्ष ढुङ्गानाले आनाकानी गरेकाले कुनै छलफलसमेत हुन नसकेको ती अधिकारीको भनाइ छ ।
लगानीकर्ताले बारम्बार ब्रोकर कसिमन घटाउन सरकारलाई दबाब दिँदै आएका छन् । तर, बोर्ड नेतृत्व समग्र लगानीकर्ताको हित हेर्नेभन्दा पनि सीमित ब्रोकरलाई पोसिरहने नीतिमा अग्रसर भएको देखिन्छ ।
लगानीकर्ताले समान ब्रोकर कमिसन र अहिलेको भन्दा आधा घटाउन माग गरिरहेका छन् । तर, बोर्डका अध्यक्ष ढुङ्गानाले ब्रोकर कमिसन घटाउँदा ब्रोकरहरु ‘सस्टेन’ गर्न गाह्रो हुने बताइरहेको स्रोतको दाबी छ ।
विश्वका विभिन्न मुलुकहरुको तुलनामा नेपालमा ब्रोकर कमिसनदर उच्च भएको भन्दै धेरैले घटाउन माग गरिरहेका छन् । ‘कमिसन अहिले पनि धेरै नै छ,’ लगानीकर्ता गोपाल ओलीले भने, ‘या त यो शून्य दशमलव २ प्रतिशतमा सीमित पार्ने, या त एउटा अधिकतम सीमा तोकेर कमिसनको निर्णय ब्रोकरले नै गर्न सक्ने व्यवस्था जरुरी हुन्छ ।’
लगानीकर्ताको संख्यामा भइरहेको वृद्धि, अनलाइनबाट कारोबार गर्नेको संख्यामा भइरहेको वृद्धिले ब्रोकरको भूमिका कम भएको भन्दै कमिसन शुल्क घटाउन लगानीकर्ताले माग गर्दै आएका हुन् ।
बोर्डका अध्यक्ष ढुङ्गानाले ब्रोकर कमिसन घटाउने बोर्डको एजेन्डा भए पनि कारोबारको अवस्था हेरेर निर्णय लिइने बताए । ‘विगत केही समयदेखि कारोबार निरन्तर घटिरहेको छ’ उनले भने, ‘त्यही भएर पर्ख र हेरको अवस्थामा बोर्ड पुगेको हो । तर, कारोबार बढ्दै गए जसरी पनि ब्रोकर कमिसन घट्छ ।
विभिन्न मुलुकको तुलनामा नेपालमा ब्रोकरदर महँगो नै छ । विदेशमा कतिपय ब्रोकरले सेयर कारोबारका क्रममा अन्य सेवाहरु लिने गरे पनि कमिसन नलिने गरेका छन् । भारतमा पनि राफसाफ नै हुने गरी गरिने कारोबारमा कमिसन लाग्दैन ।
हङकङका विभिन्न ब्रोकरले फोनबाट आदेश दिएर गरिने आधारमा वा मासिक कारोबार रकमका आधारमा कमिसनदर तोकेका छन् । १ करोड ३० लाख हङकङ डलरभन्दा कम रकममा धेरै (०.१३ प्रतिशत) र ५० करोड हङकङ डलरसम्ममा (०.००५) प्रतिशत लिने गर्छन् ।
त्यस्तै, चीनमा ०.०८ देखि ०.२५ प्रतिशतसम्म कमिसन लिने गरिएको छ । सिंगापुरमा भने ०.०८ देखि ०.२८ प्रतिशतसम्म लाग्ने गरेको छ ।
तर, नेपालमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ । ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ ।