काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले खुदनाफाको १.५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोष (सीएसआर) मा जम्मा गरेका छन् । आर्थिक वर्ष ०७६/०७७ मा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष ०७५/०७६ को खुद नाफाबाट सो रकम जम्मा गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो रकम तोकेको खुद नाफाको न्यूनतम १ प्रतिशतभन्दा माथि रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नेपालको बैकिङ उद्योगमा संस्थागत सामाजिक उत्तरदायित्व विषयक अध्ययन सम्पन्न गरी यो प्रतिवेदन प्रकाशनमा ल्याएको हो ।
जसअनुसार वाणिज्य बैंकहरुले औसतमा १.५४ प्रतिशत, विकास बैंकहरुले १.५५, वित्त कम्पनीहरुले १.६६ र लघुवित्त वित्तीय संस्थाहरुले २.०१ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेका छन् ।
वित्तीय संस्थाहरुको वार्षिक प्रतिवेदन, राष्ट्र बैंकमा पेश गरेका तथ्यांक साथै २०७७ कार्तिक २० देखि मंसिर २६ गतेसम्म गरिएको अनलाइन सर्वेक्षणका आधारमा यो अध्ययन गरिएको छ ।
सर्वेक्षणमा सहभागी धेरै बैंक तथा वित्तीय संस्थाहरुले छवि निर्माण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धित कार्यहरु गर्ने गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुमध्ये ८५ प्रतिशतको आफ्नो छुट्टै संस्थागत सामाजिक उत्तरदायित्व नीति रहेको तथा ५१ प्रतिशतले सो सम्बन्धी वार्षिक योजना बनाउने गरेको देखिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको खर्च क्षेत्रगत तथा प्रदेशगतरुपमा सन्तुलित भने हुन सकेको छैन । सुधार हुँदै गए पनि सामाजिक उत्तरदायित्व कोषको दुई तिहाईभन्दा बढी बागमती प्रदेशमा खर्च हुने गरेको छ ।
आर्थिक वर्ष ०७५/०७६ मा ३५ प्रतिशत वाणिज्य बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको क्षेत्रगत खर्च आफ्नो वार्षिक प्रतिवेदनमा खुलाएकोमा आव ०७६/०७७ मा सो संख्या बढेर ३८ प्रतिशत पुगेको देखिएको छ ।
त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा १२ प्रतिशत वाणिज्य बैंकहरुले वार्षिक प्रतिवेदनमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको प्रदेशगत खर्च खुलाएका छन् ।
आर्थिक वर्ष ०७६/०७७ मा सो संख्या बढेर ३०.८ प्रतिशत पुगेको देखिएको छ । यसरी निर्देशन दिए बमोजिम सामाजिक उत्तरदायित्व कोषको खर्चको विवरण वार्षिक प्रतिवेदनमा खुलाउने गरेका छैनन् ।